काठमाडौँ । आज कुशेऔँशी, पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।
ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद डा देवमणि भट्टराईले बताउनुभयो ।
आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३