ललितपुर । रसुवाको भोटेकोशी बाढी प्रभावित बालबालिकाको अधिकार र न्यायका लागि सत्र्चारकर्मीसहित सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बारेमा आज ललितपुरमा अन्तरक्रिया सम्पन्न भएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित कार्यक्रममा भोटेकोशी बाढीले बालबालिकामा पारेको प्रभाव, उनीहरूको सुरक्षा, संरक्षण तथा विपद्का बेला राज्यको दायित्वबारे छलफल गरिएको हो ।
भोटेकोशी बाढीका कारण प्रभावित बालबालिकामा हिंसा, दुर्व्यवहार र बेचबिखनको जोखिम देखिएको भन्दै सहभागी पत्रकारहरूले यस बारेमा नियमित रुपमा कलम चलाउने र अभिभावक तथा बालबालिकामा सचेतना फैलाउने प्रतिबद्धता पनि जनाएका छन् ।
कार्यक्रममा सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बाढीपछि बालबालिकाको अवस्था र जोखिमका बारेमा प्रस्तुति राख्दै बालबालिकामा देखिएका मनोसामाजिक असरप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार बाढीपछि धेरै बालबालिकामा डराउने, कराउने, राति निन्द्राबाट ब्युँझिने, ‘ऊ आयो’ भन्दै कराउने तथा बाहिर भाग्न खोज्ने जस्ता व्यवहार देखिएको छ ।

बालबालिका, अभिभावक, शिक्षकलगायतलाई पनि मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने अध्यक्ष पौडेलले जोड दिनुभयो ।
वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झाले विपद्सम्बन्धी रिपोर्टिङ गर्दा बालबालिकाका विषय नियमित उठाउन र संवेदनशीलत हुन अनुरोध गर्नुभयो ।

पत्रकारितालाई केवल पेशा नभई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले महिला, बालबालिका र अन्य जोखिममा रहेका समुदायका मुद्दा सञ्चारमाध्यमले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। पत्रकारका रुपमा एक पटक समाचार लेखेर मात्र नछोड्न अनुरोध गर्दै उहाँले त्यसपछि पनि फलोअप गरिरहन र समाचारको प्रभाव के रह्यो भन्ने बारेमा पनि ख्याल गर्न अनुरोध गर्नुभयो ।
प्लान इन्टरनेशनलका पोलिसी म्यानेजर इर्शाद अहमद अन्सारीले सञ्चारकर्मीहरूलाई विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो।
उहाँले बालबालिकामा पर्ने मनोसामाजिक असर र संरक्षणका मुद्दालाई जिम्मेवार ढंगले उठाउनु आवश्यक रहेको बताउनुभयो।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३