काठमाडौँ । सामुदायिक रेडियो प्रसार सङ्घ (अकोराब) नेपालको नवनिर्वाचित कार्य समितिका पदाधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई तथा शुभकामना दिनुभएको छ ।
शीतलनिवासमा आज बिहान एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
सर्वसाधारण जनताको सबैभन्दा बढी पहुँचमा रहेको सञ्चारमाध्यम रेडियो रहेको उल्लेख गर्दै नागरिकलाई सुसूचित गर्न तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सबैभन्दा महत्वपूणर् भूमिका अकोराबको रहेको छ भन्नुभयो।
‘सञ्चारका अरु साधनको पहुँच नभएका, निरक्षर जनताका लागि पनि रेडियो सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चारमाध्यम हो । झण्डै २५ हजार परिवारको योगदान र १० हजारभन्दा बढी सामुदायिक रेडियोकर्मीहरूको सहभागिता रहेको सामुदायिक रेडियो अभियानले ७० भन्दा बढी भाषामा कार्यक्रम तथा समाचार प्रसारण गरिरहेका छन् भन्ने थाहा पाउँदा मलाई धेरै खुसी लागेको छ।’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय छ । त्यतिमात्र होइन भूकम्प, कोरोनाजस्ता विपद्का बेला यी रेडियोहरूको भूमिका विपद्का साथीका रूपमा रहेको थियो । यसका लागि म तपाईँहरूलाई हृदयदेखि धन्यवाद दिन्छु।’
सामाजिक सञ्जालको प्रयोगको होडबाजीले तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण हुनसक्ने अहिलेको चुनौतिको सामना गर्दै जनतालाई सत्यतथ्य सूचना सम्प्रेषण गरेर लोकतन्त्रप्रति जनताको भरोसा जगाउन अकोराबले आगामी दिनमा अझैँ महत्वपूणर् भूमिका निर्वाह गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अकोराबका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले निर्वाचित पदाधिकारीको परिचय गराउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१, ११:२९