काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ। उहाँको यो चीन भ्रमण भदौ २८ देखि असोज ३ गतेसम्म रहने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देलले बेइजिङमा आयोजना हुने बेइजिङ छिङसान फोरममा सहभागी हुने कार्यक्रम रहेको छ ।
उक्त मञ्चमा क्षेत्रीय सुरक्षा, रक्षा सहकार्य तथा रणनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
बेइजिङ प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको बिदाइ समारोहको आयोजना गरिएको थियो । जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देललाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने जनाइएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३