काठमाडौँ । होल्डिङ सेन्टरमा बस्न नचाहाने रसुवा–भोटेकोशी बाढी प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने भएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिइने भएको हो ।
सरकारले चार जनासम्म सदस्य भएका परिवारलाई प्रति महिना १५ हजार रुपैयाँ उपलब्ध गराउने र चार जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि मासिक २ हजार रुपैयाँ थप गर्ने व्यवस्था गरेको छ ।
यो सहायता अधिकतम ६ महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो ।
यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैँले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो ।
कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि खुला राखिएको छ ।
सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको जनाएको छ । सोही आधारमा पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३