ललितपुर । गएको असार २५ गतेदेखि सम्पर्कविहीन भएका सिराहाको कल्याणपुरका अरुण शर्माको अवस्था अझै थाहा नभएको परिवारले जनाएको छ । सम्भावित ठाउँमा खोजी गर्नुका साथै प्रहरीलाई खोजतलासको लागि निवेदन दिए पनि अझै अवस्था थाहा हुन नसकेको उहाँका दाजु शशी शर्माले सिआईएनसँग बताउनुभयो ।
सिराहा कल्याणपुर घर भई ललितपुरको धापाखेल बस्ने २० वर्षीय अरुण शर्मा असार २५ गते राती ८ बजे देखी सम्पर्कविहीन रहेको परिवारले जनाएको छ । साथीको घरबाट आफ्नो कोठामा फर्किने क्रममा बेपत्ता भएको दाइ शशीको भनाइ छ ।
काठमाडाैँको लिभरपुल कलेजबाट १२ कक्षा गरेका अरुण एमबीबीएसको प्रवेश परीक्षाको तयारी गरिरहेको परिवारले जनाएको छ ।
आफुसँगै बस्दै आएका अरुण गत असार २५ गते साथीलाई भेट्न भनेर महालक्ष्मीस्थानको रानीबु गएको र साँझ साथीको कोठाबाट फर्किँदै छु भनेर फोनमा कुराकानी भएको तर बेलुका सवा ७ बजेपछि सम्पर्क हुन नसकेको अरुणका दाइ शशीभुषणले बताउनुभयो । अरुण दाइहरू शशीभुषण र रवि शर्मासँग बस्दै आएका थिए ।
सीसीटिभी फुटेजमा उनी साथीको कोठाबाट राम्रोसँग निस्किएको देखिएको तर त्यसपछि अरु कुनै पनि ठाउँको सीसीटीभी नदेखिएको पनि दाइ शशीको भनाइ छ । भाइको मोबाइल नम्बर अहिले स्वीच्ड अफ रहेको छ ।
छोरा सम्पर्कविहीन भएको जानकारीसहित खोजतलासका लागि बुबा प्रहरीमा उजुरी दिएको र प्रहरीले खोजतलास भइरहे पनि कुनै जानकारी नभेटाएको बताएको परिवारले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले अरुणको खोजी भइरहेको सीआईएनसँग बताउनुभयो । अपराध अनुसन्धान महाशाखा र ललितपुर प्रहरी दुवैले खोजी गरिरहे पनि हालसम्म केही पत्ता नलागेको उहाँले बताउनुभयो ।
नीलो टिसर्ट, जिन्सको प्यान्ट र फित्तावाला चप्पल लगाएका अरुणलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८१६७७४८७८ मा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१, १५:१५