काठमाडौँ । पशुपन्छीमा लाग्ने विभिन्न रोग रोकथामका लागि नियमित खोप अभियान सञ्चालन भइरहेको पशु सेवा विभागले जनाएको छ ।
राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तरगत खोप अभियानमा पीपीआर, खोरेत, रानीखेत, स्वाइन फीभर, भ्यागुते र चर्चरे रोगका खोपहरू निःशुल्क वितरण भइरहेका छन् । खोप अभियान वषैभरि नै चलिरहने विभागका प्रवक्ता डा. सुधीर सिंहले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार भदौ र असोजमा भने खोरेत विरुद्धको खोप लगाउने गरिएको छ । नजिकैको स्थानीय सरकारसँग समन्वय गरेर खोप लगाउन सकिने उहाँले जानकारी दिनुभयो ।
यस वर्ष लम्की स्किनले महामारीको रूप नलियोस् भनेर सरकारले निःशुल्क खोप उपलब्ध गराएकोले नजिकैको पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
खोरेत रोग खुर भएका गाई, भैँसी, घोडालगायत पशुको स्वास्थ्यमा गम्भीर असार पार्ने गरेको उहाँको भनाइ छ ।
खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्याल चुहिन जस्ता लक्षण देखा पर्दछ ।
यस्तै, विभागले लम्की स्किन सङ्क्रमण विरुद्धको खोप लगाउन समेत आग्रह गरेको छ । नेपालका केही स्थानमा पुनः लम्की स्किन सङ्क्रमण देखा परेको भन्दै पशु सेवा विभागले पशु वस्तुलाई खोप लगाउन आग्रह गरेको हो ।
गत वर्ष नेपालमा लम्की स्किन सङ्क्रमणका कारण सरकारले खोप लगाउन आग्रह गरेको छ । गत वर्ष नेपालमा लम्की स्किन रोगले महामारीको रूप लिँदा करिब ५० हजार गाई भैँसी मरेका थिए भने १३ लाख भन्दा बढी सङ्क्रमित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१, ११:१२