काठमाडौँ । बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ। उहाँले आज ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।
यससँगै मुख्यमन्त्रीसहित १३ वटा मन्त्रालय रहेको मन्त्रिपरिषद्मा मन्त्रीको सङ्ख्या १४ पुगेको हो । जसमा कांग्रेसका ८ र एमालेका ६ जना मन्त्री भएका छन् । कांग्रेसभित्रको किचलोका कारण पटक पटक मन्त्रीको शपथ ग्रहण रोकिएको थियो ।
मन्त्रीपरिषद्मा एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अमन कुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण प्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, किरण थापालाई स्वास्थ्य मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै कांग्रेसबाट मन्त्री बनेका कुन्दनराज काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय, हरि प्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरज चन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्याम खड्काले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्री बनाइएका मदुकुमार श्रेष्ठको जिम्मेवारी तोकिएको छैन ।
मुख्यमन्त्री लामाले मुख्यमन्त्री लामाले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि तत्काल मन्त्रालय नफुटाउने र मुख्यमन्त्री कार्यालयमा नै जिम्मेवारी दिने बताउनुभयो ।
दलित समुदायबाट कसैले अवसर नपाएको मन्त्रीपरिषद्मा काठमाडौँ उपत्यकाका ३ जिल्लाका ९ जना रहेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१, १८:४०