काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ ।
आज बस्ने भनेको बैठक भोलिका लागि सारिएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो २ बजे बस्ने भनिएको बैठक भोलि मङ्सिर १२ गते शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहने जनाइएको छ ।
नेपाली काँग्रेसको आगामी महाधिवेशन फागुन २१ को निर्वाचन अघि वा पछि गर्ने भन्ने विषयमा जारी बहसका कारण केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।
काँग्रेसमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्ष चुनाव अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष चुनाव पछि महाधिवेशनको पक्षमा देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२