काठमाडौँ । वर्षा याममा बिरुवा रोप्ने क्रम अरू बेलाभन्दा धेरै हुन्छ । पानी पर्ने र बिरुवा छिटो सर्ने भएकाले यो बेलामा वृक्ष रोपण गर्ने गरिन्छ ।
वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालमा वार्षिक दुई करोडभन्दा धेरै बिरुवा रोप्ने गरिएको छ । तर, बिरुवा रोप्ने तरिका नमिल्दा र रोपेका बिरुवालाई हेरचाह नगर्दा धेरैजसो बिरुवा भने हुर्कन पाउँदैनन् ।
नवलपुरको गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले हरेक वर्ष ५ देखि १० हजार वटासम्म नयाँ बिरुवा रोप्ने गरेको छ । तर तीमध्ये धेरैजसो बिरुवालाई जगाउन भने नसकिएको वनका अध्यक्ष हरिप्रसाद सापकोटा बताउनुहुन्छ ।
रोपेका सबै बिरुवा नसर्नुको कारण भने उहाँलाई पनि थाहा छैन । “हामीले हरेक वर्ष नयाँ नयाँ प्रजातिका बिरुवा लगाउने गरेका छौँ । तर लगाएको सबै बिरुवा राम्रोसँग सप्रिँदैनन् । वातावरण नमिलेर हो या लगाउने तरिका नमिलेर हो थाहा छैन” सापकोटाले भन्नुभयो ।
बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप रोक्न मात्र होइन पानीका मुहान संरक्षण, जैविक विविधताको रक्षा गर्न पनि वनको भूमिका अतुलनीय हुन्छ । त्यही भएर देशैभरि हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा रोप्ने गरिन्छ ।
तर यसरी रोपिएका बिरुवामध्ये आधा जति पनि जगाउन नसकिएको ठूलावन सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष दीपेन्द्र तुम्बाहाम्फेको अनुभव छ ।
बिरुवा रोपेपछि त्यसको संरक्षण र हेरचाहमा चासो नदिएका कारण पनि रोपेका सबै बिरुवा हुर्किन पाउँदैनन् । अध्यक्ष तुम्बाहाम्फेका अनुसार दुई वर्षअगाडि सामाजिक संस्थासँग मिलेर लगाएको बिरुवा सबै चरिचरनमा आउने बाख्राले नष्ट गरिदिए । त्यसयता वनमा नयाँ प्रजातिका बिरुवा लगाउने गरिएको छैन ।
वन तथा वातावरण मन्त्रालयकाअनुसार नेपालमा बर्सेनी २ करोडभन्दा धेरै बिरुवा रोप्ने गरिएको छ । जसमध्ये सामुदायिक वनमा रोपिएका ६० प्रतिशत र व्यक्तिगत रूपमा रोपिएका २० प्रतिशत बिरुवा मात्रै सर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार ७७ वटै जिल्लका वन कार्यालय, भू–संरक्षण कार्यालय, वनस्पति कार्यालय, राष्ट्रपति चुरे, तराई, मदेशलगायत वन मन्त्रालयसँग सम्बन्धित निकायको वार्षिक बिरुवाको उत्पादन र लक्ष्यको आधारमा २ करोड भन्दा धेरै बिरुवा रोप्दै आइएको छ । बाढी पहिरोजस्ता विपद् नआएको अवस्थामा बढीमा ६० प्रतिशत जति मात्र बिरुवा सर्ने गरेका छन् ।
बिरुवाको छनोट र रोप्ने सही तरिका नअपनाउँदा पनि बिरुवा सर्न र सप्रिन नसकेको वन अधिकृतहरू बताउँछन् । कम्तीमा २ वर्ष नर्सरीमा राखेको बिरुवा छनोट गरी सही तरिकाले रोपी र उचित हेरचाह गरेमा धेरै बिरुवालाई बचाउन सकिने वन तथा भू-संरक्षण विभागकी वन अधिकृत सबनम पाठकको सुझाव छ ।
उहाँका अनुसार बिरुवा छनोट गर्दा नै चासो नदिने प्रबृत्तीले गर्दा पनि लाखौँ बिरुवा खेरा गएका छन् । नर्सरीमा २ वर्ष भन्दा कम समय मात्र राखेको बिरुवा सर्ने सम्भावना न्यून हुन्छ । अनि बिरुवालाई प्राप्त मात्रमा चाहिने तत्त्वमा पनि ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
नयाँ बिरुवा उत्पादन, वितरण र रोपणमा बर्सेनि करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । रोप्ने सही तरिका नअपनाउने तथा रोपेपछि हेरचाह नगर्ने हो भने यसमध्येको अधिकांश रकम खेर गइरहने विज्ञहरू बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८१, १३:०४