नवलपुर । अर्थतन्त्र तथा सहकारी क्षेत्रका जानकारहरूले नीति र विधिमा चल्ने सहकारीमा समस्या नरहेको बताएका छन् । विजय विकास स्रोत केन्द्रको ४६ औँ स्थापना दिवसको अवसरमा नवलपुरको गैँडाकोटमा बुधवार गरिएको सहकारी संवादका सहभागीले सहकारीसम्बन्धी कानुन र अभ्यासको तालमेल नमिल्दा सहकारीमा समस्या देखिएको बताएका हुन् ।
“सहकारीमा सुशासन ः असल अभ्यास, चुनौतीहरू र अबको बाटो” विषयक छलफलमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. अच्युत वाग्लेले सहकारी ऐन, सहकारीको सञ्चालन र अभ्यासको तालमेल नमिल्दा सहकारीमा समस्या देखिएको बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुशासनलाई ध्यान दिन नसकेकै कारण सहकारीहरू समस्याग्रस्त भएको बताउनुभयो ।
यस्तै, राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले ठुला सहकारीमा वित्तीय अनुशासनको संस्कार नहुँदा समस्या बढेको बताउनुभयो ।
राजनीतिक विश्लेषक हरि शर्माले विश्वासले सिर्जना गरेको समुदायभित्रको सहकारीमा समस्या नभएको र सहकारीलाई पैसाको दृष्टिकोणबाट मात्र नभएर सामाजिक महत्त्वका क्षेत्रबाट पनि हेर्न जरुरी रहेको बताउनुभयो ।
संस्थागत विकास एवं सुशासन विज्ञ नम्रता शर्माले सहकारी संस्थाहरूभित्र वित्तीय सचेतनाकै कमि भएका कारण समस्या सिर्जना भइरहेको बताउनुभयो । सहकारीमा जान्ने सुन्ने बर्ग कै नियतका कारण समस्या थपिएको शर्माले बताउनुभयो ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारी ग्राम गैँडाकोटबाट नै सहकारीका समस्या र चुनौतीका विषयमा छलफल सुरु गरिएको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८१, १९:५१