धनकुटा । सामुदायिक रेडियोको दिगोपनाका लागि रेडियोकर्मीको क्षमता अभिवृद्धि तालिम धनकुटामा सम्पन्न भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) कोशी प्रदेश समितिको आयोजनामा ४ दिने तालिम आज सम्पन्न भएको हो ।
कोशी प्रदेशका १४ जिल्लाका सबैजसो रेडियोका सञ्चालक र स्टेशन मेनेजर तालिममा सहभागी थिए ।
रेडियोको खस्किँदो अवस्थालाई उकास्ने, रेडियोलाई प्रविधिमैत्री बनाउने र समुदायको अभिरुचिका सामग्री उत्पादन गर्ने उपाय र विगतका अभ्यासहरुलाई परिमार्जन गर्नुपर्ने विषयमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) का प्रमुख दीपक आचार्यले तालिमको सहजीकरण गर्नुभएको थियो ।
अकोराब केन्द्रीय उपाध्यक्ष बन्दना दनुवार र कोशी प्रदेश अध्यक्ष विदुर खवासले रेडियोको संस्थागत विकासका लागि भइरहेका पहलका बारेमा जानकारी गराउँदै सहभागिहरु बीच रेडियोका समस्या, समाधानका उपाय र सम्भावनाका विषयमा छलफल चलाउनुभएको थियो ।
तालिमकै क्रममा धनकुटाका स्थानीय सरोकारवालासँग सामुदायिक रेडियासँग समुदायको अपेक्षाका बारेमा अन्तरक्रियासमेत गरेको अकोराव कोशी प्रदेशका सचिव पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
लगातार रेडियोको दिगोपना र रेडियोकर्मीको क्षमता अभिवृद्धिका काम गर्दै आएको अकोराब कोशी प्रदेश समितिले केही समय भित्रै ७ दिनेको प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने सचिव न्यौपानेको भनाइ छ ।
![436723968_1132131681333544_4805497978141056610_n-1716340079.jpg](https://www.cinkhabar.com/uploads/posts/436723968_1132131681333544_4805497978141056610_n-1716340079.jpg)
कोशी प्रदेशका सामुदायिक रेडियोकर्मीले एकतावद्ध भएर एक रेडियोले अर्को रेडियोका उत्कृष्ट समाचार तथा कार्यक्रम प्रसारण गर्ने, व्यवसायिकतामा एकतावद्ध हुने, समुदायका सवालमा जोड दिने, भाषाभाषिका कार्यक्रमलाई प्रादेशिक प्रसारणको रुपमा विकास गर्ने लगायतका निर्णय गरेका छन् ।
अकोराब कोशी प्रदेश समितिले रचनात्मक काम गरेको भन्दै सदस्य रेडियो सञ्चालकहरुले खुसी व्यक्त गरेका छन् ।
सीआईएन प्रमुख आचार्य सम्मानित
सामुदायिक सूचना नेटवर्क सिआइएन प्रमुख दीपक आचार्यलाई अकोराब कोशी प्रदेश समितिले सम्मान गरेको छ । रेडियोको दिगोपना र रेडियोकर्मीको क्षमता अभिवृद्धिमा योगदान गरेको भन्दै आचार्यलाई कोशी प्रदेश समितिले सम्मान गरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१, ०६:५३