सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ६९ जनाभन्दा धेरै किशोरकिशोरीला असल आचरण तथा सकारात्मक सोचसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम चौतारमा यही चैत ९ र १० गते कार्यक्रम भएको हो ।
विभिन्न विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई पहिलो दिन बाल अधिकार र किशोरकिशोरीमा देखिने परिवर्तन र मनोसामाजिक सहयोगका बारेमा जानकारी दिइएको थियो भने दोस्रो दिन सकारात्मक सोचको आवश्यक्ता र यसका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया, सामाजिक सञ्जालको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा, सही सूचना र समाचार पहिचान गर्ने उपाय, समय व्यवस्थापनको महत्वका बारेमा जानकारी दिइएको थियो ।
महिला उद्धार केन्द्रको आयोजना र चौतारा साँगाचौकगढी नगरपालिकाको सहयोगमा आयोजित अभिमुखीकरणमा केन्द्रका अध्यक्ष जानुका पराजुली, बाल अधिकारकर्मी तथा अभियन्ता द्वय ललित राना र मिलन लामा, सञ्चारकर्मी लिलप्रकाश चन्दले सहजिकरण गर्नुभएको थियो ।
अभिमुखीकरणको उद्घाटनसत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले भविष्यका कर्णधार र वर्तमानका साझेदारका रुपमा किशोरकिशोरीलाई लिइएको र उनीहरूको बौद्धिक तथा सीप विकासका लागि पालिकाले सहयोग गर्दै जाने बताउनुभयो ।
उपमेयर सीता थापाले दुई दिनसम्मको बसाइमा सिकेको कुरालाई घरपरिवार र समाजमा पनि उपयोग गर्न सुझाव दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१, १०:२८