काठमाडौँ । साहित्यकार तथा पत्रकार केसु विरहीको अनुसन्धानात्मक कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ को विमोचन गरिएको छ ।
एपेक नेपालले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।
कृतिको सहरी विकासमन्त्री सीता गुरुङ, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ, प्राडा खगेन्द्रप्रसाद लुइँटेल, मदन पुरस्कार विजेता भगीराज इङ्नाम, साहित्यकार ममता मृदुल, लेखक विरहीलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङले आफू तेह्रथुमकै बासिन्दा भएकोले यस किसिमको कृति प्रकाशन हुँदा आफूलाई गर्व लागेको बताउनुभयो ।
“साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक कृति तयार गर्न निकै कठिन छ, मैले पनि धेरै पटक पुस्तक लेख्ने प्रयास गरेँ तर पूरा गर्न सकिरहेको छैन ।” उहाँले भन्नुभयो, “तेह्रथुमको साहित्यिक इतिहासले तेह्रथुमलाई चिनाउन मद्दत गर्छ भन्ने विश्वास लिएकी छु ।”
कार्यक्रमका वक्ता प्राडा खगेन्द्रप्रसाद लुइटेलले सो कृतिमा विविध विधा अन्तर्गतका साहित्यकार र उनीहरुको सिर्जनाको सङ्क्षिप्त परिचय मात्र भएको बताउँदै यस कृतिका आधारमा थप गहन र विस्तृत अनुसन्धान गर्न सकिने बताउनुभयो ।
“इतिहास लेखन कहिल्यै पनि पूरा हुँदैन, छुटेका तथ्य र तथ्याङ्क पछिल्ला अनुसन्धानमा थप्दै जानु पर्छ,” उहाँले थप्नुभयो, “यस कृतिमा देखिएका कमीकमजोरीलाई सबैले सीधै लेखकलाई औँल्याइदिनु पर्छ, बिनातथ्य कुरा मात्र काट्नु हुँदैन ।”
अनुसन्धाता भगिराज इङ्नाले यो कृति तेह्रथुमको साहित्यिक क्याटलग मात्र भएको धारणा राख्नुभयो ।
साहित्यकार ममता मृदुलले कृतिले तेह्रथुमको साहित्यको मात्र नभएर त्यहाँका मानिसको मानिसको सोचाइको स्तरसमेत चित्रण भएको बताउनुभयो ।
कृतिमा नारीलाई उपयुक्त सम्मान पनि यस कृतिमा गरिएको उहाँको भनाइ थियो ।
कृतिका लागि करिब डेढ वर्षको अथक प्रयासपछि तयार भएकाले यसमा भएका कमी कमजोरीको सुझावको अपेक्षा गरेको बताउनुभयो । उहाँले यस किसिमको अनुसन्धान गर्न व्यक्ति एक्लैले सम्भव नभएकाले संस्थागत पहलका लागि आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा तेह्रथुममा जन्मिएर काठमाडौँमा कर्मथलो बनाएको अधिकांश साहित्यकार तथा लेखकहरुको उपस्थिति थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०, १२:३९