काठमाडौँ । राष्ट्रिय सभाका १९ सिटका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा कोसी प्रदेशको एक सिट बाहेक सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
कोसीमा महिलातर्फ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभयो । राप्रपाको समेत समर्थन पाएकी कोइरालाले ५ हजार ८६ र काँग्रेस, नेकपा एस र जसपाको समर्थनमा माओवादीकी कार्कीले ४ हजार ९९२ मत भार पाउनुभएको हो ।
यस्तै, अन्यतर्फ राप्रपाका उद्धव पौडेललाई हराउँदै काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी हुनुभएको छ । सिटौलालाई पनि गठबन्धनका २ सांसदले फ्लोर क्रस गरेर पौडेललाई मत दिए पनि स्थानीय तह तर्फबाट भने गठबन्धन अनुसार नै मत खसेको थियो । सिटौलाले कुल ५ हजार २९२ र पौडेलले ४ हजार ५६२ मतभार पाउनुभयो ।
यस्तै, मधेस प्रदेशमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जसपाका पूजा चौधरी विजयी हुनुभयो । ढुङ्गानाले ७ हजार ३७० र चौधरीले ७ हजार ९ सय २३ मतभार पाउनुभयो ।
यस्तै, बागमती प्रदेशमा महिलातर्फ कांग्रेसका विष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, अपाङ्गतर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ । विजयी पुडासैनीले ६६२२, बस्नेतले ६ हजार ५३१, अधिकारीले ६ हजार ३८३ र रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उम्मेदवार विजयी भएका छन् । अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ, अपाङ्गता/ अल्पसङ्ख्यकतर्फ कांग्रेसका पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रका मनरुपा शर्मा विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । श्रेष्ठले ३ हजार ८ सय ८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाउनुभयो । यस्तै, काँग्रेसका परियारले ३ हजार ७ सय ७९ र एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाउनुभयो । महिलातर्फ माओवादी केन्द्रका शर्माले ३ हजार ६ सय ६० र एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाउनुभयो ।
लुम्बिनी प्रदेशमा कांग्रेसका विष्णुकुमारी सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित हुनुभएको छ । कर्णालीबाट पनि गठबन्धनका उम्मेदवार नै विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ नेकपा एसकी सावित्री मल्ल, दलिततर्फ माओवादी केन्द्रका विष्णु विक र अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाय विजयी हुनुभएको हो ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा विजयी हुनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०, १८:१२