सर्लाही । सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारीले प्रदर्शन चर्काएपछि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार मध्यान्ह १२ः४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्फ्यु आदेशमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्था देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुनै पनि किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाइने उल्लेख गरिएको छ ।
बरहथवास्थित पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटो, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलको क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो । आदेश उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले पक्राउ गरी कानुन बमोजिम कारबाही गर्ने गरिने कार्यालयले जनाएको छ ।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने विवादलाई लिएर भएको झडपमा गएको शुक्रवार दिउँसो स्थानीय ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएदेखि बरहथवा बजार अशान्त छ । मृतकको शव अझै घटनास्थलमै राखिएको छ ।
सरकारले घटनाबारे छानबिन गर्न शनिवार उच्चस्तरीय समिति गठन गरी १ हप्तामा प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । यस्तै मृतक साहका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी धमलासहितका सुरक्षा अधिकारी शनिवार साँझ घटनास्थलमा र मृतकको घरमा पुगेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि आन्दोलन रोकिएको छैन । आइतबार बिहानबाट गाउँ¬–गाउँबाट थप प्रदर्शनकारी भेला भएर प्रदर्शन गर्न थालेपछि थप हिंसात्मक गतिविधि हुन नदिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रदर्शन मत्थर भए पछि हिजो बिहान स्थानीय प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मलङ्गवामा छलफल जारी रहँदा बरहथवा बजार क्षेत्रमा आइतबार बिहानैदेखि प्रदर्शन चर्किएपछि कर्फ्यु आदेश लगाउनुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले मृतकको शव व्यवस्थापन तथा प्रदर्शनकारीको माग सम्वोधन गर्न छलफल जारी रहेको बताउनुभयो ।
प्रदर्शनकारीले प्राथमिक स्वास्थ्य केन्द्र तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, बरहथवाका नगरप्रमुखले राजीनामा दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतककै नामबाट अस्पतालको नामकरण गर्नु पर्नेसहितका मागलाई प्रमुख रूपमा उठाएका छन् । बरहथवा बजार क्षेत्र, नगरपालिका कार्यालय र नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
घटनापछि तीन दिनदेखि बरहथवा बजार बन्द छ भने नयाँ रोड–बरहथवा सडकमा यातायात सञ्चालन हुन सकेका छैनन् ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०, १३:५०