भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा तीन घण्टा लामो सम्पदा पदयात्रा आयोजना गरिएको छ ।
विश्व मुटु दिवसको अवसर पारेर “मुटुको प्रयोग गर्नुहोस् मुटुकोबारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ शनिवार पदयात्रा आयोजना गरिएको हो ।
शंखधर चोकबाट सुरु भएको सम्पदा पदयात्रा बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी बिहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहार नगदेश, नीलकण्ठेश्वर, टिगनी, नलिबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेर सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको थियो ।
पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागीलाई सम्पदा स्थलमा सम्पदाको महत्वको बारेमा जानकारी गराउनुका साथै सांस्कृतिक झाँकी र मुटु रोगबाट बच्न जानकारीमूलक सन्देश प्रवाह गरिएको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एच एमडी २५ चिफ चार्टर प्रेसिडेन्ट एमजेएफका संयोजक एवम् कार्यक्रम संयोजक उद्धव सिलवालले बताउनुभयो ।
पदयात्रा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जनले थिमिमा रहेको शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेर उद्घाटन गर्नुभएको थियो ।
मुटु रोगको जोखिम बढिरहेको र किशोर तथा युवा वर्गमा पनि हृदयघात हुने क्रम बढ्दै गएकाले मुटु रोग र यसको जोखिमबाट बच्नेबारे सचेतना दिनुका साथै ओझेलमा रहेको मध्यपुर थिमिको सम्पदालाई उजागर गर्न सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालले बताउनुभयो ।
लायन्स क्लबका विभिन्न शाखाहरूले मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको सम्पदा पदयात्रामा प्रदेश मन्त्री महर्जनसँगै बागमती प्रदेश सभा सदस्य द्वय शकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेश सभाका पूर्व राज्य मन्त्री रजनी जोन्छे, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतका जनप्रतिनिधि, विद्यार्थी, लायन्स क्लबका पदाधिकारी, लायनहरु र सर्वसाधारणको सहभागिता थियो ।
लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन शम्भु थापाले १५ जिल्लामा ४८ जार लायन्सका सदस्यहरू रहेको र नेपालका लायनहरुकै सहयोगबाट सङ्कलित रकम समाजसेवामा खर्च भइरहेको जानकारी गराउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०, १९:१२