काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताब्यापी लामो भ्रमणका लागि चीन पुग्नुभएको छ।
शुक्रबार राति अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उहाँ उतैबाट चीन पुग्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई शनिबार बिहान हाङ्झाउ विमानस्थलमा चीनका खेलकुद, सामान्य प्रशासन मन्त्री तथा ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले स्वागत गर्नुभयो ।
उहाँ आजै हुने एसियाली खेलकुदको उद्घाटन समारोहम सहभागी हुनुहुने छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ जाने र त्यहाँ चीनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।
बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारी सहभागी छन्।
प्रधानमन्त्री प्रचण्ड ल्हासालगायत क्षेत्रको भ्रमण गरी आउँदो शनिबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०