काठमाडौ । आज ८ मार्च, अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाइन्छ । कतिपय अन्तराष्ट्रिय नारी दिवसका रुपमा समेत मनाउने गर्छन् ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो । आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।
धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । नेपालमा पनि बिदा दिइने चलन छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ । ११३ औँ अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी रहेको बताउनुभएको छ ।
११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९, ०७:२०