चितवन । नेपालमा एकातिर खेती नगरेर जमिन बाँझै रहने तर अर्कातिर कृषि उत्पादन विदेशबाट ल्याउनुपर्ने अवस्था छ । विदेशबाट हुने तरकारी आयात नरोकिँदा नेपालमै उत्पादित तरकारीले मूल्य नपाउने गरेको किसानको भनाइ छ । स्थानीय उत्पादनले लगानी अनुसारको मूल्य नपाएको भन्दै आन्दोलन नै गरे । टमाटर काउली लगायत तरकारी सडकमै फालेर गरिएको आन्दोलनको अहिले सकारात्मक प्रभाव देखिन थालेको छ । भारतीय तरकारी आयातमा रोक लगाएसँगै स्थानीय उत्पादनले बजार पाउन थालेको हो ।
गएको माघ २० गते नारायणगढको पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा तरकारी फालेर चितवनका किसानले आन्दोलन गरेका थिए । किसानले बेच्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यको अन्तर थोरै हुनुपर्ने, बिचौलियाको अन्त्य हुनुपर्ने र भारतीय तरकारी आयात रोक्नुपर्ने उनीहरूको माग थियो ।
जसका कारण, त्यसबेला ५ रुपैयाँ किलोमा पनि नबिकेको गोलभेँडा अहिले २८ रुपैयाँमा बिक्री हुन थालेको छ । १० बिगाहा खेतमा तरकारी खेती गरिरहनुभएका भरतपुर १६ विजयनगरका किसान धनु अधिकारी अब भने केही राहत मिलेको बताउनुहुन्छ । किसानले उत्पादन गरेको तरकारीले बजारको समस्या बेहोर्न नपरे आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुहुन्छ ।
नेपाली बजारमा मागको ४० देखि ५० प्रतिशतसम्म तरकारी भारतबाट आयात हुने गरेको छ । लगानी अनुसारको मूल्य पाए नेपालकै उत्पादनले तरकारीको माग धान्न सक्ने किसान अधिकारी दाबी गर्नुहुन्छ ।
१० हजार ७ सय २५ हेक्टरमा तरकारी खेती गर्ने गरिएको चितवनमा ३ हजार ४ सय ८२ हेक्टरमा हिउँदे तरकारी खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनमा दैनिक करिब ५ सय मेट्रिक टन तरकारी उत्पादन हुन्छ । त्यसमध्ये जिल्लामा खपत हुने १ सय २५ मेट्रिक टन बाहेकको तरकारी काठमाडाैँ, पोखरा र हेटौँडा पठाइन्छ । सरकारले सघाए भारतीय तरकारीलाई विस्थापित गर्न सकिने भरतपुर १८ गुञ्जनगरका किसान सुसनसिंह केसी बताउनुहुन्छ ।
सरकारले आफूहरूका समस्या समाधान गर्न नखोजेको किसानको गुनासो छ । तर, सरकारले भने किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने तयारी भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेको दाबी छ ।
किसानकै जोड बलमा भारतीय तरकारीमा रोक लगाएपछि स्थानीय उत्पादनले मूल्य पाएको छ । तर किसानले २८ रुपैयाँमा बच्ने गोलभेँडालाई उपभोक्ताले ६० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । बिचौलिया मोटाउने यो अवस्था बन्द गर्दै भारतीय तरकारीको आयात सधैँलाई बन्द गर्नुपर्ने किसानको माग छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९, १७:०१