काठमाडौँ । ३ वर्षअघि सीआईएनसँगको कुराकानीमा भनिए जस्तो हुन्थ्यो, भने हिजोआज राजेश हमालले निर्देशन गरेको चलचित्रको बारेमा बहस भइरहेको हुन्थ्यो ।
तर कोरोना महामारीका कारण चलचित्र निर्माण, निर्देशन गर्ने हमालको योजना अघि बढ्न सकेन ।
‘मेरो उद्देश्य समाजमा विभिन्न स्वाद भएका मानिस र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्दै चलचित्र बनाउँछु भन्ने सोचेको थिएँ । कोरोनाले अझैँ त्यसमा हात हाल्न सकेको छैन ।’ हमालले भन्नुभयो ।
तर पनि उहाँको सक्रियता भने यति छ कि बिहान सबेरैदेखि साँझ अबेरसम्म व्यस्त । केही चलिचत्रमा अनुबन्ध भए पनि विभिन्न विषयका गीतको भिडियोमा धेरै काम गर्नुपरेको उहाँ सुनाउनुहुन्छ ।
बितेको २ वर्षमा २ दर्जनभन्दा बढी गीतमा काम गर्दा हमाललाई लाग्न थाल्यो कि मौका पाए अब गीत पनि गाउनुपर्छ ।
पेसागत हिसाबले आफू कलाकार नै भए पनि गीत गाउने शोख भएको उल्लेख गर्दै हमालले साथीभाइले उत्साह थपेका कारण गीत गाउन थालेको बताउनुभयो ।
चलचित्रभन्दा म्युजिक भिडियोमा धेरै समय दिनुलाई कतिपयले राजेश चलचित्रबाट पलायन हुन थालेको रुपमा पनि बुझ्छन् । तर नायक हमालको यात्रा भने गायनतिर सोझिएको छ ।
निर्माता, निर्देशक, सङ्गीतकार तथा गायकहरूसँग शोखका रुपमा मात्र गाउने चाहाना राखे पनि हिजोआज पालैपालो नयाँ गीत गाउनुपर्ने अवस्था आइलागेको छ । केही दिन अघि २ घण्टा लगाएर काठमाडौँको एउटा रेकर्डिङ स्टुडियोमा उहाँले एकल गीत गाउनुभयो ।
गोबिन्द भट्टले लेख्नुभएको ‘म त हजुर गाउँले ठीटो’ बोलको गीतमा सङ्गीत सन्तोष श्रेष्ठको छ । व्यावसायिक गायकले जस्तो गायनमा पूरापुर स्वाद नभेटिए पनि राजेश हमालले गाउँदा समाजमा सकारात्मक सन्देश जाने सङ्गीतकार श्रेष्ठको बुझाइ छ ।
‘कुनै खास परिस्थिति वा नेपालमा कुनै सम्भावना नदेखेर विदेशिने प्रवृत्तिलाई हमालको स्वरमा रहेको पछिल्लो गीतले नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’ श्रेष्ठले थप्नुभयो, ‘व्यावसायिकताभन्दा पनि हमालले गाउँदा समाजमा पर्ने सकारात्मक प्रभावलाई महत्वका साथ हेरिएको छ ।’
‘म त हजुर गाउँले ठीटो’ बोलको गीत रेकर्डिङको काम सकिएका कारण अबको केही दिनमा भिडियो छायाङ्कनको काम सुरु हुने निर्देशक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । भिडियोमा पनि हमाल नै मुख्य भूमिकामा रहने उहाँको भनाइ छ।
करिब ३ महिनाअघि पनि राजेश हमालले दीपक शर्माले लेख्नुभएको एउटा गीतमा युगल स्वर दिनुभएको थियो । त्यसमा पनि जीवनभर सक्रिय हुनुपर्छ भन्ने सन्देश लुकेको राजेश बताउनुहुन्छ ।
ठट्टेउली तरिकाले गाइएको भए पनि आफूमा भएको ऊर्जालाई शिथिल नबनाउँ भन्ने आसय व्यक्त गर्न खोजेको उहाँको भनाइ छ ।
३० वर्षभन्दा धेरै समयदेखि नेपाली चलिचत्रमा स्थापित र सक्रिय । योगदानका आधारमा दिइएको भनिएको ’महानायक’ को सम्मानका विषयमा बेलाबखत भइरहने बहसबाट राजेश हमालको चर्चा भइरहन्छ ।
चलचित्रभन्दा म्युजिक भिडियोमा धेरै समय दिनुलाई कतिपयले राजेश चलचित्रबाट पलायन हुन थालेको रुपमा पनि बुझ्छन् । तर नायक हमालको यात्रा भने गायनतिर सोझिएको छ ।
देशविदेशमा हुने मेला, महोत्सव, भेलामा नृत्य वा कुनै संवाद सुनाउनका लागि मात्रै पनि उहाँको माग हुनेक्रम रोकिएको छैन ।
जीवनको ५० को दशकमा नायकबाट गायक बन्नु आफ्नो लागि अवसर हो भन्ने राजेश हमाललाई लागेको छ ।
‘मेलामहोत्सवमा जाँदा अब मेरा पनि दुईवटा गीत त हुने भयो नि हैन ?’ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘केही न केही खुराक महोत्सवका लागि तयार भएको छ । यसले मेरो आत्मविश्वास अझैँ बढाउने अपेक्षा गरेको छु ।’
अभिनयसँगै गायनमा चालेको राजेश हमालको प्रारम्भिक पाइलालाई सफलता वा असफलताको कसीमा अहिले नै लगाउन मिल्दैन ।
तर नागरिकले प्रेरणाको स्रोत मान्ने एक कलाकारको अभिनय, गायनको सन्देश अपेक्षागरेभन्दा धेरै पर्नेमा भने दुई मत हुँदैन ।
३० वर्षभन्दा धेरै समयदेखि नेपाली चलिचत्रमा स्थापित र सक्रिय । योगदानका आधारमा दिइएको भनिएको ’महानायक’ को सम्मानका विषयमा बेलाबखत भइरहने बहसबाट राजेश हमालको चर्चा भइरहन्छ ।
सकारात्मक र नकारात्मक बहसकाबीच हमालको सक्रियता, अभिनयसँगै गायनमा पनि देखिन थालेको छ ।
अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८, ०७:३६