पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ र कुश्मा नगरपालिका २ खुर्कोटका किसानले व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी लिन थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसानहरू भैँसीपालनतर्फ आकर्षित भएका हुन् । पाङका यज्ञप्रसाद कँडेलले भैँसी पाल्न थालेको २६ वर्ष भयो । यो वर्ष उहाँले भैँसी थप्ने योजना सुनाउनुभयो ।
घरमा रहेका दुई भैँसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैँसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) मा नपर्ने भएपछि उहाँले भैँसी थप गर्न लाग्नुभएको हो ।
कँडेल मात्रै होइन, स्थानीय गोपानाथ पंगाली पनि भैँसी थपेर व्यावसायिक दूध उत्पादन गर्ने सोँचमा हुनुहुन्छ । ‘अहिले मसँग तीनवटा स्थानीय जातका भैँसी छन् ।’ रिजालले भन्नुभयो,‘तीनवटा भैँसी थप्न लाग्दैछु ।’
पाङ र वडा नम्बर २ खुर्कोटका ५० जना किसान नयाँ भैँसी खरिदको तयारीमा छन् ।
वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत सङ्घीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको ५ लाख र किसानको ५ लाख गरी कुल ३५ लाख रुपैयाँ लगानीमा कम्तिमा पनि १ सय ५० वटा भैँसी पाल्ने तयारी गरिएको छ ।
कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानहरूले दूध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा मोहीको रूपमा दूध फालिने गरेको थियो ।
तर, मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रूपमा बजारमा पठाउनका लागि थप भैँसीसहित परियोजना लागु भएको हो ।
पार्वती गुफा भैँसी पालन पकेट समितिमार्फत दुग्ध सङ्कलन केन्द्रसमेत निर्माण गरेर दूधलाई पर्वत सदरमुकाम कुश्मा, बाग्लुङ सदरमुकाममा बाग्लुङ र खपत हुन नसकेमा पोखरासम्म पुर्याउने गरी तयारी भइरहेको वडाध्यक्ष सुबेदीले बताउनुभयो ।
पकेट क्षेत्रमा समावेश हुन चाहने किसानहरूका लागि सूचना आह्वान गरेर मापदण्ड पूरा गर्न सक्ने भएमा सहभागी हुन भनिएको थियो ।
जसमा किसानको तर्फबाट १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीन वटा भैंसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने लगायतका सर्त राखिएको थियो ।
अहिले पहिलो वर्ष ५० जना किसान परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैंसीबाट दैनिक कम्तीमा पनि ५०० लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
पाङ र खुर्कोटलाई पकेट जोनको रूपमा विकास गर्दै गर्दा पूर्व तयारीस्वरूप दुग्ध संकलन केन्द्र समेत निर्माण भइसकेको छ ।
दैनिक कम्तिमा पनि साढे ५०० लिटर दूध सङ्कलन गर्न सक्ने गरी सुरुवाती अवस्थामा काम भइरहेको र बजार व्यवस्थापनका लागि समितिमार्फत निर्यातको ठाउँहरूमा बुझ्ने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजालले बताउनुभयो ।
गाउँका युवा काम खोज्दै बिदेश गएका छन् । स्थानीय चन्द्रकला रिजालले गाउँमा भैँसीपालनको लहर चलेपछि काठमाण्डौँमा रहेका छोराबुहारीलाई गाउँमै बोलाएर भैँसीपालन गर्न सल्लाह दिएको बताउनुभयो ।
‘अहिले सबैले भैँसीपालन गर्ने लहर चलाएका छन् ।’ रिजालले भन्नुभयो,‘अरुको काम गर्नुभन्दा आफ्नै व्यावसाय गर्नुपर्छ भनेर छोराबुहारीलाई बोलाएकी छु ।’
कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार व्यावसायिक दूध उत्पादनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रमा पाँच वर्ष अगाडिबाटै दूधको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो ।
तर किसानहरूको सक्रियता र राज्यबाट हुने अनुदान सहयोगको अभावमा कार्यक्रम लागु हुन सकेको थिएन ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८, ०८:०९