पर्सा । तराई मधेशमा दीपावली र छठको तयारीसँगै बजारमा चहलपहल बढेको छ । दीपावली तथा छठमा आवश्यक मिठाइसहितका परिकार र सामग्रीहरू अहिले बढी किनबेच भइरहेको छ ।
तर धेरै जना नजिकको भारतीय बजारमा जाने गरेका कारण नेपाली व्यवसायी मारमा परेका छन् ।
वीरगञ्जका अलिहसन मियाँ १५ वर्षदेखि व्यापार व्यवसायमा हुनुहुन्छ । तर तिहारमा बेच्नका लागि तयार पारिएका सामग्री खरिदका लागि कम सङ्ख्यामा ग्राहक आउँदा उहाँलाई तनाव छ ।
भारतको विभिन्न बजारमा सस्तो पाइने भएका कारण उतैबाट नेपाली उपभोक्ताले सामान खरिद गर्छन् । यसले भारतसँग सीमा जोडिएका नेपाली बजार प्रभावित भएको छ ।
दीपावली तथा छठमा नभइ नहुने अर्को परिकार हो, मिठाइ । अरु बेला माछामासुको व्यापार बढी हुने भए पनि यी पर्वहरूमा मिठाइको व्यापार धेरै हुने गरेको छ ।
अहिले सडकको पेटीमा पनि मिठाइ बेच्न राखिएका छन् तर व्यापार भने सोचे जस्तो हुन सकेको छैन । पहिलेको तुलनामा अहिले व्याापार कम भएको बताउनुहुन्छ वीरगञ्ज माईस्थानका मिठाइ पसल सञ्चालक उमेश साह कानु ।
धनतेरसको दिन केही न केही किन्नुपर्ने मान्यता रहे पनि उक्त दिन पनि सोचे जति व्यापार नभएको वीरगञ्जका व्यापारी अनिल कुमारले बताउनुभयो ।
चाडपर्वको नाममा पड्काइने पटाका कानूनी रुपमा प्रतिबन्ध लगाइएको छ भने स्वास्थ्यका हिसाबले पनि हानिकारक छ ।
आगलगाीको जोखिम पनि पटाकाले बढाउने भएकाले सचेत रहन पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकको अनुरोध छ ।
उज्यालोको पर्व तिहारसँगै छठ पनि नजिकै आइरहेकाले यतिबेला तराई मधेसमा विशेष रौनक छ ।
खर्चमा मितव्ययिता अपनाउँदै चाडपर्व मनाउँदा मर्यादित त देखिन्छ नै संस्कृति र संस्कारको संरक्षणमा पनि योगदान पुग्ने सरोकारवालाको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२