उत्कर्ष नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त सहकार्यमा रानीघाट प्रहरी बिटलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । जेन–जी आन्दोलनका क्रममा रानीघाट प्रहरी बिटमा क्षति पुगेको थियो । कार्यालयलाई भान्साका सामान, सुत्ने सामग्री तथा कार्यालय सञ्चालनका लागि चाहिने अन्य उपकरणहरू उपलब्ध गराइएसँगै प्रहरी बिट पुनः पूर्ण रूपमा सञ्चालनमा फर्किएको छ ।
गत ९ सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनका क्रममा प्रशासनिक र सुरक्षात्मक संरचनामा ठूलो क्षति पुगेको थियो। त्यसपछि प्रभावित संरचनालाई पुनःस्थापित गर्न उत्कर्ष नेपालले सुरु गरेको ‘नेपाल पुर्ननिर्माण अभियान’ अन्तर्गत यो सहयोग गरिएको हो ।
संस्थाका प्रतिनिधिहरूकाअनुसार, अभियानको उद्देश्य केवल सामग्री वितरणमा सीमित नभइ, कानून–व्यवस्था सामान्य अवस्थामा फर्काउन, नागरिक सेवा प्रवाह अवरोधमुक्त बनाउन तथा समाजमा आशा र विश्वास पुनःस्थापित गर्न पनि हो ।
उनीहरूले सबैलाई आह्वान गर्दै भनेका छन्, “जसरी सकिन्छ, जसरी सम्भव छ, आफ्नो तवरले यस अभियानमा हातेमालो गरौँ ।”
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२