काठमाडौँ । यमपञ्चक अर्थात तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्राध्यापक सम्भुप्रसाद ढकालका अनुसार उत्तम साइतको व्यवस्था गरिएको भए पनि आज दिनभर नै भाइटीका लगाउन मिल्ने सीआईएनसँग बताउनुभयो ।
आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइन्छ ।
तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२