काठमाडौँ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनको विषय बदर भएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद संसदमा प्रवेश गरेको छ ।
नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई तोकेको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई शुक्रबार प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो ।
गुरुङ, प्रचण्ड–नेपाल समुह तर्फका हुनुहुन्छ । संसद विघटन गर्नु अघि पनि ओलीले गुरुङको राजीनामा माग गर्नुभएको थियो ।
सर्वोच्च अदालतको फैसलाले संसद पुनस्र्थापना भएपछि नेकपाको विवाद अब संसदमा प्रवेश गरेको हो । नेकपाको प्रचण्ड–नेपाल समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको छ ।
पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको छ । ओली समुह भने संसदमा नयाँ रणनीतिका साथ प्रस्तुत हुने तयारीमा लागेको छ । ओली समुहका केही सांसदहरुले अलग्गै भेटेर अब संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल पनि गर्न थालेका छन् ।
सीआईएनसँग कुरा गर्दै ओली पक्षका प्रमुख सचेतक भट्राइले पार्टी अलग नभएको अवस्थामा भिन्न रणनितिका साथ अगाडि बढ्ने बताउनुभयो ।
‘सकभर पार्टी एक बनाउनेगरी हामी अघि बढ्छौँ । त्यसका लागि अपनाउने कदम कार्यान्वयन पनि हुन्छ ।’ नवनियुक्त सचेतक भट्टराईले भन्नुभयो ।
संसद पुनस्र्थापना भएसँगै विभाजन भएका नेकपाका दुई समूह मिल्नुको विकल्प नभएको भन्दै नेकपा भित्रकै केही नेताहरू एकताको पक्षमा उभिएका छन् ।
पार्टी उपाध्यक्ष बामदेब गौतमले पुनः एकताको लागि दुबै पक्षका नेताबीच छलफल तथा भेटघाट गरिरहनुभएको छ ।
नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर नेता गौतमले पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गर्नुभयो ।
नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताउनुभएका गौतमले अस्ति प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गनुृभएको थियो ।
प्रचण्ड – नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले भने आफूहरू दलको बिधान अनुसार नै अगाडि बढ्ने बताउनुभएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७