पर्वत ।
पर्वतमा यूरिया मलको अभाव भएको छ । साउनदेखि मल आपूर्ती नहुँदा किसानले धान खेतमा यूरिया छर्न पाएका छैनन् ।
मलको अभाव भएपछि किसानलाइ उत्पादन घट्ने चिन्ता छ ।
मकै छर्ने बेलामा सहकारी मार्फत रासायनिक मल पाएका किसानले धानमा राख्ने मल भने पाएका छैनन् । लामो लकडाउनका कारण सहकारीमा मल आएको छैन । बजारमा पनि अभाव छ ।
फलेवास ६ देबिस्थानका किसान पूर्णकुमार श्रेष्ठ धानले दुईपटक मल पाउनुपर्ने बेला भइसक्दा पनि मल नपाएको बताउनुहन्छ । श्रेष्ठले भन्नुभयो, ‘अब धान सुक्दै सुक्दै, पहेँलो हुँदै गइसकेको छ । अब हामी किसानहरूलाई त एकदमै समस्इा पर्ने भयो ।’
बैशाख, जेठ र असारमा किसानलाई सहकारीले मल बितरण गरे । बजारमा मल खोज्दा नपाएपछि धान मर्न थालेको किसानहरू बताउँछन् ।
केही किसानले भारतबाट मल मगाएर पनि धानमा हालेका थिए । तर लकडाउनका कारण भारतबाट पनि मल आयत गर्न सकिएको छैन ।
बिहादी ३ रानीपानीका रामप्रसाद पराजुलीले भन्नुभयो, ‘पहिला पहिला त हामीले भैरहवा, बुटवलबाट व्यापारीहरूमार्फत ल्याएर हाल्ने गरेका थियौं । अहिले त ति व्यापारीहरूसँग पनि ल्याउन सम्भव भएन ।’
समयमै धान रोप्न पाउँदा राम्रो उत्पादन हुने आशामा उत्साहित भएका किसान समयमै मल नपाउँदा भने निराश भएका छन् । पर्वत स्थित कृषि सामाग्री केन्द्रले बैशाख, जेठ र असारमा गरि ५ सय ४३ टन मल वितरण गरेको छ ।
अहिले केन्द्रमा डिएपी मल थोरै मात्रामा बाँकी छ, तर युरिया मल तीन महिनादेखि सकिएको केन्द्रका प्रमुख नारायणप्रसाद शर्माले बताउनुभयो ।
यो वर्ष रोप्ने बेलादेखि अहिलेसम्म अनुकुल मौसम रहेकाले धानको उत्पादन बढ्ने अनुमान थियो । तर मलको अभावले उत्पादन घट्न सक्ने भन्दै किसान चिन्तित भएका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मी अनुकुल वर्षा भएर समयमा रोपेपनि रासायनिक मलको अभावले उत्पादनमा असर पर्ने बताउनुहुन्छ ।
पर्वतमा रहेको करिब २८ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये २० हजार हेक्टर जमीनमा धानखेती हुने गरेको छ ।
तर धान गोड्ने बेलामा मल नपाउँदा अब उत्पादन कमि हुने चिन्तामा किसानहरू छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७, १६:१२