काठमाडौँ ।
एक उच्च तहका सुरक्षा अधिकारीको भनाइ मान्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि यतिखेर, तत्कालीन माओवादीको जनयुद्धको मध्यतिरको अवस्थामा जस्तै छ ।
केही आधार क्षेत्र घोषणा गरेर त्यहीँबाट पार्टी चलाउने योजनामा रहेका विप्लव आफ्नै सङ्गठनको शक्तिले यो सबै गरिरहेका छन् ? को को छन् विप्लवको शक्तिका आधार ? यो प्रश्न अहिले धेरैको मनमा छ ।
विप्लव नेतृत्वको नेकपाले गरिरहेको गतिविधि र लिएका एजेण्डा तत्कालीन माओवादी जनयुद्धसँग जोडिएका छन् । तर ती एजेण्डामा नागरिकका समस्या र भावना जोडिइसकेका छैनन् ।
राजनीतिक दर्शन, मुद्दा, सङ्गठनको शक्ति हेर्दा प्रभाव देखाउने बेला भइसकेको छैन । विप्लव र माओवादी आन्दोलन बारे जानकार मुमाराम खनाल विप्लवको नयाँ बाटो आफूलाई स्थापित गर्ने अस्त्र भएको व्याख्या गर्नुहुन्छ ।
सीआईएनसँगको कुराकानीमा खनालले भन्नुभयो, ‘एउटा राजनीतिक समूह जब छिटोभन्दा छिटो आफू शक्तिमा जानको लागि, एउटा चर्चा कमाउनको लागि अथवा त्यो विश्वास पनि होला हामीले राम्रो सत्ता ल्याउँछौं भन्ने त्यो विश्वास पनि होला कुनै मान्छेलाई । तर त्यो विश्वास उसको भ्रम मात्रै हो । भर्खरै त्यस्तो खालको युद्धबाट जुन नेताहरू पैदा भएका छन्, ती नेताहरूलाई हेरेर र उनीहरूको चरित्र हेरेर पनि त उनले सिक्नुपथ्र्यो ।’
पुष्पकमल दाहाल पचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्यसँग असन्तुष्ट कार्यकर्ताको उल्लेख्य पङ्क्ति अहिले विप्लवसँग छ । तर योभन्दा ठूलो पङ्क्ति वैद्यसँग भएका बेला ०७० सालमा थियो । त्यतिखेर निर्वाचन भाँड्ने हर कोसिस गरे पनि पार लागेन ।
नेपाली सेनाले गोप्य रूपमै लिए पनि केही हतियार विप्लव समूहले नियन्त्रणमा लिएको दावी गरिन्छ । पत्रकार गंगा बीसी भन्नुहुन्छ, ‘ त्यसबेला नबुझाइएका हतियार पनि विप्लवल यहाँसम्मको यात्रा तय गर्नुको बल हो ।’
अहिले आफ्नै शक्तिको बलमा विप्लवले क्रान्तिको बाटो रोज्नुभएको हो त ? उहाँको सामथ्र्य माथि शङ्का व्यक्त गर्नुहुन्छ, राजनीतिक विश्लेषक विश्वकान्त मैनाली ।
‘नयाँ अहिले जन्मेको नयाँ शक्ति त केही पनि होइन, माओवादी आन्दोलनको एउटा टुक्राचाहिँ विप्लवले बोकेर बसिराखेको अवस्था हो ।’ मैनालीले सीआईएनसँग भन्नुभयो ।
नेताहरूले बताएअनुसार चरणबद्ध छलफलबाट माओवादी द्वन्द्वसँग जोडिएका पूर्व लडाकु, सहिद, वेपत्ता परिवारभित्रको असन्तुष्टिलाई राजनीतिक क्रान्तिसँग जोडेर लैजान अलग्गै पार्टी बनाउने निष्कर्षमा विप्लव पुग्नुभएको हो ।
विप्लवलाई नागरिकलाई देखाउने सपनाको भूतले नछोड्दा बाटो पनि छाड्न नसकेको लामो समय सहकार्य गर्नु भएका नेकपाका एक जना नेता देवेन्द्र पौडेलको तर्क छ ।
कुन शक्तिका आडमा विप्लव हिड्न खोज्दै हुनुहुन्छ, त्यो खोजीको विषय बन्न सक्ला । तर उहाँले बोकेको एजेण्डा र अङ्गालेको ‘विप्लव’कारी बाटो अहिलेको संविधान अनि व्यवस्थाबाट स्थापित हुने देखिँदैन ।
‘सपना देखाउनु र सपना आफ्नै नेतृत्वमा कार्यान्वयन गर्ने कुरा अलि फरक कुरा हो ।’ नेता पौडेलले सीआईएनसँग भन्नुभयो, ‘रहरले क्रान्ति गर्छु भनेर हुँदैन, एकदुईवटा घटना घटाउनु, विस्फोट गर्नु क्रान्ति होइन । क्रान्ति भनेको कुनै खास राजनीतिक उद्देश्यको निम्ती आम जनतालाई प्रभावित पारेर, जनतालाई लिएर हिडेर अगाडि बढ्नु र त्यसले स्वामित्व प्राप्त गर्नु नै जनताको जनक्रान्ति हो ।’
तत्कालनीन माओवादी शान्ति प्रक्रियामा आउँदा लडाकु शिविर नजिकै हतियार लुकाएको व्याख्या अहिले पनि हुन्छ । ती मध्ये धेरै हतियार तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङ्लाई सूचना र निर्देशन दिएर नेपाली सेनाले गोप्य रूपमै लिए पनि केही हतियार विप्लव समूहले नियन्त्रणमा लिएको दावी गरिन्छ । त्यो पनि क्रान्ति गर्ने एउटा बल हो भन्नुहुन्छ, विप्लव बुझेका पत्रकार गंगा बीसी ।
कपिलवस्तुको शिवराज नगरपालिका–९ अञ्चलपुरबाट फागुन २३ मा प्रहरीले बरामद गरेको विप्लव समूहका हतियार र बन्दोबस्तीका सामग्री। तस्विरःनेपाल प्रहरी।
“केही हतियार छ भनेर सरकारले पनि भनेको छ । पूर्व लडाकु समायोजन हुने बेलाकै केही हतियारहरू शिविरबाट हराएको भनेर त्यसबेला पनि चर्चा भएको थियो । केही समयअघि प्रहरीले इटहरी र कपिलवस्तुबाट पनि अत्याधुनिक हतियार बरामद गरेको छ । त्यसले पनि सङ्केत गर्छ ।’ पत्रकार बीसीले भन्नुभयो ।
अझैँ पनि विप्लवबाट अपेक्षा र आशा गर्ने ठूलो पङ्क्ति छ । तर, त्यो बल प्रयोग गर्ने तरिका र रोजेको बाटो मन पराउने सङ्ख्या निकै कम देखिन्छ । कुन शक्तिका आडमा विप्लव हिड्न खोज्दै हुनुहुन्छ, त्यो खोजीको विषय बन्न सक्ला । तर उहाँको ‘विप्लव’कारी बाटो संविधान र यो व्यवस्थाका विरुद्ध उभिएकाका लागि एउटा हतियार बन्ने पक्का छ ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५