काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। शुक्रबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो ।
बैठकमा कार्ययोजना र अवधारणा प्रस्तुत गर्दै निरौला र पाण्डेयले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्यायसम्पादनमा जोड दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई आत्मसात् गर्दै सविधान, कानुन र न्यायका मान्य सिद्धान्तसमेतका आधारमा न्यायिक सम्पादन गर्ने र यसमा कोही कसैसँग कुनै प्रकारको सम्झौता नगर्ने उहाँहरुको भनाइ थियो ।
बैठकमा समितिका सदस्य सांसदले निरौलाबारे परेका उजुरीका आधारमा थप प्रश्न गरेका थिए । पाण्डेयविरुद्ध भने उजुरी परेको थिएन ।
निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीशका रुपमा कार्यरत हुनुहुन्छ । उहाँहरुलाई असोज ११ गतेको न्यायपरिषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीसमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१, १५:१८