काठमाडौं । जिल्ला तहको नेतृत्वका विषयमा नेकपामा भागबण्डा मिलेको छ । पूर्व एमाले र पूर्व माओवालीबीच भागबण्डा मिलेपछि नेतृत्व छानिने भएको छ । जिल्ला तहको नेता छान्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।
जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई अध्यक्षले तयार पारेको प्रस्तावलाई सचिवालय बैठकले असन्तम रुप दिनेछ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् ।
अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको सहयोगमा प्रस्ताव तयार पार्नु भएको हो । ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ ।
केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आज बस्ने सचिवालय बैठकले तल्लो तहसम्मको एकता प्रक्रिया टुंगो लगाउन अन्तिम प्रस्ताव तयार पार्ने जानकारी दिनुभयो । बैठक समय भने तय भइसकेको छैन । पार्टी तल्लो तह र जनवर्गीय संगठनको एकतामा भएको ढिलाइले नेकपाभित्रै असन्तुष्टि बढेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५