काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो। दिउँसो ३ बजे चिकित्सकहरुले शल्यक्रिया सफल भएको जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीलाई अबको चार दिनसम्म आईसीयूमै राखेर स्वास्थ्य परीक्षण गरिने भएको छ।
झन्डै दुई दर्जन चिकित्सक शल्यक्रियामा सहभागी भए। शल्यक्रिया सफलभएपछि चिकित्सकहरुले खुसी व्यक्त गरेका छन्। अस्पताल बाहिर बाक्लो संख्यामा रहेका नेकपाका कार्यकर्ता, सर्बसाधारणले पनि खुसीयाली मनाइरहेका छन्।
नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको डा. ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसहित शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने ९ जना पुगेका छन्।
हालसम्म शिक्षण अस्पतालमा मात्रै झन्डै ७०० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। विभिन्न निजी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण गरिन्छ।
प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै सङ्ख्या शुभेच्छुक उपस्थित भएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६