काठमाडौँ । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ।
यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले त्यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो। साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको छ।
तीन दिनअघिदेखि सुरु भएको पुल जडानको काम आजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो।
पुलको निर्माण तथा जडान कार्य पनि नेपाली सेनाकै दक्ष प्राविधिक टोलीले गरिरहेको छ। जडान कार्य सकिएलगत्तै प्राविधिक परीक्षण गरी उक्त मार्गमा सवारी साधन सञ्चालनका लागि बाटो खुला गरिनेछ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३