काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १५ करोड ५० लाख रकम जम्मा गर्ने भएको छ ।
कर्मचारीको तलब कट्टा गरी राहत कोषमा उक्त रकम जम्मा गर्नुका साथै रसुवा भोटेकोशी बाढीमा मृत्यु भएका कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ उपलब्ध गराइने पनि जानकारी दिइएको छ ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरुले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन् ।
बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने रकम कट्टा गरिने छैन ।
मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रीत परिवारलाई राष्ट्रसेवकहरुको तर्फबाट तत्काल १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरुको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि, २०७९ बमोजिम रु ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड, २०८१ बमोजिम रु. ५ लाखसमेत गरी जम्मा २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय भएको सह प्रवक्ता थापाले जानकारी दिनुभयो ।
मृतक कर्मचारीहरुले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी रहेको भएमा सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरुलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णयसमेत गरिएको छ ।
सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरुप प्रतिव्यक्ति रु. १ लाख तत्काल उपलब्ध गराउने र सोही बाढीको कारणबाट मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्मृतिमा सङ्गठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक समेत निर्माण गरिने भएको छ ।
मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारका १/१ जना सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गर्ने र सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई राहत स्वरुप जनही रु. ५० हजारका दरले तत्काल उपलब्ध गराउनेसमेत सशस्त्र प्रहरी बलले निर्णय गरेको छ ।
बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख¸ घरवारविहीन भएमा १ लाख र आंशिक रुपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई रु. ५० हजारसम्म तत्काल उपलब्ध गराउने निर्णय समेत भएको डीएसपी तथा सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३