काठमाडौँ । यही भदौ १० गते आएको भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ४ पुगेको छ । ४ हजार २ सय १६ जना अझैँ सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेको र बाढीमा घाइते भएका ३ सय १ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेको जनाएको छ ।
१ सय ९५ जना डिस्चार्ज भएका छन् भने ७० जना उपचाररत छन् । उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बदलसहित कुल २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ भने ६ सय १० वटा हवाई उडानमार्फत उद्धार तथा राहतका काम सञ्चालन गरिएको छ ।
बाढीपछि विस्थापित भएका ३ हजार ९ सय ४८ जना चार जिल्लाका ३४ वटा होल्डिङ सेन्टरमा बसिरहेका छन् । नुवाकोटका २४ केन्द्रमा २ हजार ९ सय ८१, रसुवाका पाँच केन्द्रमा ३२०, धादिङका तीन केन्द्रमा २६० र काठमाडौंका दुई केन्द्रमा ३८७ जना आश्रय लिइरहेका छन्।
जलविद्युतका सुरुङमा खोज तथा उद्धार जारी
बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा पनि खोज तथा उद्धारको काम भइरजहेको प्राधिकरणको भनाइ छ ।
रसुवागढी जलविद्युत् आयोजनाको १ सय २० मेगावाट क्षमताको सुरुङमा करिब १ सय ५० मिटरभित्र ठूला चट्टान भेटिएपछि उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाइ भएको छ ।
९० जनाको टोली, तीन स्काभेटर र एक बबक्याट प्रयोग गरी माटो हटाउने तथा कम्प्रेसर मेसिन, रक ब्रेकर र ब्लास्टिङमार्फत सुरुङमा प्वाल पार्ने काम जारी छ।
आयोजनाको सुरुङको आउटलेटतर्फ अर्को प्वालसमेत भेटिएको र त्यहाँ जमेको माटो तथा पानी हटाउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
लाङटाङ २० मेगावाट आयोजनामा भारतीय टोलीको रेकीपछि नेपाली सेनासहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ ।
टोलीले सुरुङभित्र करिब ७५ मिटर प्रवेश गरी हालसम्म करिब ९ सय मिटर लेदो हटाएको छ । खोज तथा उद्धारका क्रममा दुई शवसमेत फेला पारिएको छ ।
चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए, त्रिशूली–३ बी र मैलुङ खोला जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा पनि खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ ।
सडक र सञ्चार सेवा प्रभावित
बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत कृष्णभीर र परेवा भीरमा यातायात पूर्ण रूपमा अवरुद्ध छ ।
गल्छी–देवीघाट खण्डमा लेदो हटाउने काम जारी छ भने तादी नदीमा ७५ मिटर लामो बेलीब्रिज जडानका लागि तयारी भइरहेको छ । विदुर–बेत्रावती सडकखण्डको करिब २.५ किलोमिटर सडक पूर्ण रूपमा बगेपछि ब्रेकर र एक्साभेटर प्रयोग गरी पुनः सञ्चालनको काम भइरहेको छ ।
सञ्चारतर्फ नेपाल टेलिकमका १ सय २० मध्ये १ सय १५ र एनसेलका ७८ मध्ये ७५ वटा मोबाइल टावर सञ्चालनमा आएका छन् । टिमुरे, चिलिमे खोला, त्रिशूली–३ बी, भाल्चे–किस्पाङ र चन्दनबारीलगायतका केही क्षेत्रमा सेवा पुनःस्थापना हुन बाँकी रहेको जनाइएको छ ।
राहतका लागि १६ करोड उपलब्ध
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म १६ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रभावित क्षेत्रमा सडक तथा हवाई मार्गबाट खाद्य तथा गैरखाद्य सामग्री पठाउने क्रम जारी रहेको छ ।
हिजो मात्रै थप २८ वटा गाडी राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ ।
रसुवा जिल्लामा विद्युत् आपूर्ति हुन समय लाग्ने क्षेत्रमा वितरण गर्न १ सय ५५ वटा सोलार पावर बैंक जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
मोबाइल टावर सञ्चालनका लागि जेनेरेटरमा आवश्यक इन्धन ढुवानी गर्न नेपाल टेलिकम र एनसेलले हेलिकप्टर सहयोगको आवश्यकता रहेको जनाएका छन् ।
बाढी प्रभावितको राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गरिएको छ ।
हवाई मार्गबाट प्राप्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदाममा तथा स्थलमार्गबाट आएका सामग्री नुवाकोटको बट्टार, रसुवाको धुन्चे र अन्य संकलन केन्द्रमा व्यवस्थापन गरिएको छ ।
प्राधिकरणका अनुसार पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन् । हालसम्म ९५ शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ ।
पहिचान भएका शव सम्बन्धित ठेगानामा पठाउने तथा उद्धार गरिएका व्यक्तिलाई घरसम्म पुर्याउने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३