नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित ११ हजारभन्दा धेरैको उद्धार भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्ममा ११ हजार ३ सय ७९ जनाको उद्धार गरिएको हो ।
प्राधिकणको स्थिति प्रतिवेदनअनुसार बाढीबाट प्रभावित विभिन्न १६ वटा स्वास्थ्य संस्थामा २ सय ७९ जनाको उपचार भइरहेको छ ।
१ सय ६८ जना उपचर गरेर घर फर्किएका छन् । ७९ जना उपचाररत अवस्थामा छन् । उपचारकै क्रममा तीन जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार हालसम्म ३ हजार ९ सय २५ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये रसुवाका ८ सय ६५ जना, नुवाकोटका १ हजार ५ सय ५८ जना तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत करिब ६ सय ३९ जना छन् ।
सम्पर्कविहीन हुनेमा विदेशी नागरिक ५ सय ९२ जना रहेको विवरणमा उल्लेख छ । विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १ सय ६४ जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना पनि सम्पर्कविहीनको सूचीमा छन् ।
बाढी प्रभावित विभिन्न जिल्लामा हालसम्म ९ सय ३९ शव फेला परेको प्रतिवेदनमा प्राधिकरणले जनाएको छ । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा २ हजार ७ सय जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ ।
उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३