काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि ९ सय ७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले जनाएको छ।
प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको स्थिति प्रतिवेदनअनुसार हालसम्म ३ सय ८९ जनाको शव फेला परेको छ ।
सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ तथा रसुवाका १६१ र मकवानपुरका ६६ जना रहेका छन्।
नुवाकोटबाट एक जना सम्पर्कविहीन रहेको विवरण छ। सम्पर्कविहीन विदेशी नागरिकको संख्या ५१७ रहेको छ। नेपाल भ्रमणमा आएका वा विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख छ।
बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालनमा छन्।
हालसम्म हेलिकप्टरबाट मात्रै १ हजार ९७६ जनाको उद्धार गरिएको छ। बाढीबाट घाइते भएका १३० जनामध्ये ६७ जना विभिन्न अस्पतालमा उपचाररत छन्। ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ।
एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ जना घाइते आईसीयूमा छन्, जसमध्ये तीन जना भेन्टिलेटर/इन्टुबेटेड अवस्थामा रहेको जनाइएको छ।
बाढीका कारण अवरुद्ध सडक खुलाउने काम पनि जारी छ। देवीघाटको सडक अवरोध हटाइसकिएको छ भने गल्छी–विदुर–त्रिशूली तथा बैरेनी–मुग्लिन सडकखण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको छ।
धुन्चे–ग्राङ खण्ड, विदुर–त्रिशूली–ढुंगे खण्ड तथा अन्य प्रभावित सडकमा समेत भारी उपकरण परिचालन गरी सडक सञ्चालनको प्रयास भइरहेको छ। सरकारले बाढी प्रभावितका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ नगद पठाएको छ।
प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पठाएर वितरणको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३