काठमाडौँ । आगामी अगष्ट २३ देखि २५ तारिखसम्म हुने एसिया–प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबिडी) को २४ औँ साधारणसभा सफल पार्न सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले स्थानीय आयोजकको रुपमा तयारीलाई तीव्रता दिएको छ ।
एआईबीडीको सह सदस्य रहेको अकोराबले स्थानीय आयोजकको रुपमा साधारण सभा सफल र प्रभावकारी बनाउने बारेमा दुई पक्षीय तथा बहुपक्षीय संवाद गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनासँग छलफल गरेको छ।
एआईबिडीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमसहित सिंहदरवारमा भएको छलफलमा नेपालमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलनको तयारीका बारेमा कुराकानी भएको हो ।
भेटमा मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानका लागि पनि यस्ता सम्मेलनले सञ्चार क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सम्मेलन सफल पार्नका लागि सरकारको तर्फबाट सबै प्रकारको सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री तिमिल्सिनाले नेपालमा सामुदायिक रेडियोले सूचना प्रवाह, जनचेतना फैलाउन र लोकतन्त्र सुदृढीकरणमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै रेडियोले सामना गर्नुपरेका चुनौतीको समाधानका लागि सम्मेलनबाट निकालिने निष्कर्षले सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एआईबिडीकी सिइओ फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै प्रभावकारी सञ्चार माध्यम रहेको बताउँदै नेपालको सामुदायिक रेडियो अभियानले जनसमुदायसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो ।
एआईबिडीले सदस्य राष्ट्रबीच प्रसारण क्षेत्रका नीति, प्रविधि र अनुभव आदानप्रदानमा काम गर्दै आएको उल्लेख गर्दै उहाँले साधारण सभाले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने पनि बताउनुभयो ।
भेटमा अकोराबका अध्यक्ष अर्जुन गिरीसहित पदाधिकारीहरूको टोली सहभागी भएको थियो । टोलीली साधारण सभा सफल पार्ने बारेमा सूचना तथा सञ्चारमन्त्रालयका सचिव लक्ष्मी बस्नेतसँग पनि छलफल तथा भेट गरेको छ भने सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालसँग पनि छलफल गरेको छ ।
अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले एआईबीडीसँगको समन्वय र सल्लाहमा साधारण सभाको पूर्व तयारीका सबै काम निरन्तर भइरहेको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३