काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा अति भारी पानी पर्ने सम्भावना छ ।
देशका हिमाली / पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
धेरै ठूलो पानीका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि जुटन अनुरोध गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो ।
जोखिमपूर्ण भनिएको क्षेत्र र समयमा अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जामा आज र भोलि रातिको समयमा सवारी आवागमनमा रोक लगाउन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयहरूलाई भनेको छ ।
परिस्थिति अनुसार जुनसुकै बेला सवारीसाधनको आवागमन बन्द गर्न सकिने पनि प्राधिकरणले भनेको छ ।
तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकहरुमा डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्ने,
जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले भनेको छ ।
अकस्मात बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला / नदी किनाराका बस्तीका बासिन्दाहरु बढी चनाखो हुनुपर्ने, वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सेभ गरी राख्ने र आवश्यक पर्नासाथ फोन गर्न पनि अनुरोध गरिएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २, २०८३