सल्यान। सल्यानका सामुदायिक रेडियोकर्मी पत्रकार प्रदीप घर्तीमगर ‘शारदा पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ।
आर्थिक वर्ष २०८२\०८३ मा जनसूचना प्रवाह, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा वितरण, विकास व्यवस्थापन तथा स्थानीय शासन सुदृढीकरणलगायतका विषयमा जनमुखी पत्रकारितामार्फत उल्लेखनीय योगदान पु¥याएको भन्दै शारदा नगरपालिकाले पत्रकार घर्तीमगरलाई उक्त पुरस्कार प्रदान गरेको हो।
शारदा नगरपालिकामा मङ्गलबार आयोजित कार्यक्रममा पत्रकार घर्तीमगरलाई नगद रु. २५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सुनार तथा प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढाले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा नगरका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नगरपालिकाका अनुसार पत्रकार घर्तिमगरले गरेका अनुसन्धानात्मक, तथ्यपरक तथा उत्तरदायी समाचार सामग्रीले शारदा नगरपालिकाको पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पु¥याएको छ।
पत्रकार घर्तीमगर हाल रेडियो शारदा, सामुदायिक सूचना नेटवर्क (सीआईएन) काे जिल्ला सवाददाता तथा मध्यान्न राष्ट्रिय दैनिकलगायत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा आबद्ध रहँदै पत्रकारितामा सक्रिय हुनुहुन्छ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३