काठमाडौँ । राष्ट्रिय युवा परिषद् अन्तर्गतको जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत युवा सञ्जाल (वाईसीजीएन) ले आयोजना गरेको जलवायु सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी क्षमता अभिवृद्धि तालिम काठमाडौँमा सम्पन्न भएको छ।
राष्ट्रिय युवा परिषद् तथा जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्य र यक्याप तथा संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा दुई दिनसम्म सञ्चालन भएको तालिममा जलवायु परिवर्तन र सामाजिक न्यायबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै युवाहरूलाई समावेशी नेतृत्वका लागि चाल्नुपर्ने कदम र बनाउनुपर्ने योजनाको कार्यढाँचाका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत युवा सञ्जाल, राष्ट्रिय युवा परिषद् तथा जागृति बाल तथा युवा सरोकार नेपालसँग आबद्ध ३० जना युवा जलवायु अभियन्ताहरूको सहभागिता रहेको सञ्जालका अध्यक्ष रीता थापाले जानकारी दिनुभयो ।

जेसीविज्ञ दिव्या देवी गुरुङको सहजीकरणमा सम्पन्न तालिममा जलवायु न्याय, लैङ्गिक असमानता, सामाजिक बहिष्करण, समावेशी सहभागिता तथा उत्तरदायी जलवायु सुशासनका विविध आयामबारे तालिममा छलफल गरिएको थियो।
सहभागीहरूले समूह अभ्यास, अनुभव आदानप्रदान तथा जलवायु सङ्कटले विभिन्न समुदायमा पार्ने फरक–फरक प्रभावबारे विश्लेषण तथा छलफल गरेका थिए।
सहभागीहरूले महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा जलवायु परिवर्तनबाट प्रभावित किसानहरूको लागि कसरी योजना बनाएर काम गर्न सकिन्छ भन्ने बारेमा समूह कार्य गरेका थिए ।
समाजका विभिन्न वर्गले भोगिरहेका संरचनागत चुनौती, अवसरमा रहेको असमान पहुँच तथा निर्णय प्रक्रियामा सहभागिताका अवरोध बारे पनि छलफल गरिएको थियो ।

कार्यक्रममा स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको महत्वमाथि विमर्श गरिएको थियो। सहभागीहरूले बजेट केवल आर्थिक दस्तावेज मात्र नभई सामाजिक न्याय, समान अवसर र समावेशी विकास सुनिश्चित गर्ने आधार भएकोमा जोड दिएका छन् ।
तालिमको दोस्रो दिन सहभागीहरूले ललितपुरस्थित ईसिमोड लिभिङ माउन्टेन ल्याबको अध्ययन अवलोकन भ्रमण गरेका थिए।
भ्रमणका क्रममा उनीहरूले हिमाली क्षेत्रको पारिस्थितिकीय संरक्षण, समुदायमा आधारित जलवायु अनुकूलनका अभ्यास तथा दिगो विकासका नवीनतम प्रयासबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए।

यसले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीयस्तरमा उत्थानशीलता निर्माणका व्यावहारिक उपायहरूबारे सहभागीहरूको दृष्टिकोणलाई थप फराकिलो बनाएको थियो।
कार्यक्रमको समापन सत्रमा आयोजित सहकार्य तथा नेतृत्व विकास गतिविधिहरूले सहभागीहरूबीच आपसी एकता, सहकार्य र सञ्जालीकरणलाई थप मजबुत बनाएको थियो। सहभागीहरूले आफूले सिकेका ज्ञान र सीपलाई स्थानीय समुदाय तथा नीति निर्माण प्रक्रियासम्म पुर्याउने प्रतिबद्धता जनाएका थिए।
प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३