काठमाडौँ । भन्सार छलेको शङ्का लागेपछि सशस्त्र प्रहरी बल नेपालले ७ सय ७५ वटा गाडी नियन्त्रणमा लिएको छ ।
मुस्ताङ्को कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडी भन्सार छलि गरेको शङ्का लागेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक बिष्णुप्रसाद भट्टले बताउनुभयो।
जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडीहरु नियन्त्रणमा लिइएको जनाइएको छ ।
गाडी नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
नुवाकोटको पासाङल्हामु सडकखण्डबाटसमेत २ वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिईएका गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने पनि सशस्त्र प्रहरी प्रवक्ता भट्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३