काठमाडौँ । विश्व समुदायमै सफल अभ्यासको रुपमा उदाहरणीय बनेको नेपालको सामुदायिक रेडियो अभियान र सामुदायिक वन सरंक्षणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोपन) का पदाधिकारीले आगामी दिनमा नेपालका सामुदायिक रेडियोसँगको सहकार्य बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घद् (अकोराब) द्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सीआइएनको १८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँको चन्द्रागिरी नगरपालिका ३ मा रहेको लगलगे पाखो सामुदायिक वनमा गरिएको कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो ।
कार्यक्रममा लगलगे पाखो सामुदायिक वन उपभोक्ता समूह, सेतीदेवी सामुदायिक वन र सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का पदाधिकारीहरुले सीआईएनले सामुदायको सवाल र सामुदायिक वनको सवाल उठाएर दिगो वन व्यवस्थापनको क्षेत्रमा सहयोग गरेको बताए ।
सीआइएनले ६ महिना अघि पनि आफ्नो वनमा आएर अग्नी रेखा कोर्ने जनचेतनामूलक सामग्री बनाएर प्रचार लगायतका चेतनामूलक कार्यक्रम गरेको र वनवातावरण संरक्षणका लागि जानकारीमूलक सामग्री उत्पादन तथा प्रसारण गरेर राम्रो काम गरेको लगलगे पाखो सामुदायिक वनका अध्यक्ष रामशरण आले मगरले बताउनुभयो ।
चन्द्रागिरी नगरपालिका ३ का कान्छि लिम्बुले सीआईएनले वन संरक्षण र पर्यापर्यटनमा लाग्न आफूहरुलाई बेलाबेलामा उत्प्रेरित गर्ने काम गरेको बताउनुभयो ।
कार्यक्रममा फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले आरोग्य पर्यटन अन्तरगत काठमाण्डौँ उपत्यका आसपासका क्षेत्रमा वनहरुले आम्दानी गर्न सक्ने अवसर रहेकाले सीआईएनले यस्ता कामको प्रचार गरेर सबै सामुदायिक वनलाई उत्प्रेरित गर्नु पर्ने बताउनुभयो ।
फेकोफनका महासचिव पार्वता गौतमले महिलाको नेतृत्व विकासका लागि सामुदायिक वनले गरेका कार्यलाई सीआईएनले प्राथमिकता दिएर देशैभरि महिला नेतृत्व विकासको सन्देश दिन सकेको बताउनुभयो ।
सीआईएनले सत्यतथ्य समाचार तथा जानकारी बाँड्दा नागरिकमा यसप्रतिको विश्वास बढेको बताउनुभयो ।
गएको १८ वर्षमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले सामुदायिक वनको अभियानलाई सफल बनाउन गरेको योगदानको प्रशंसा गर्दै फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक रेडियोले देशैभरिका सामुदायिक वनको सवाललाई उठाउने कामलाई अझै प्राथमिकता दिनुपर्ने र फेकोफनले पनि सामुदायिक रेडियोको दिगो विकासका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
सीआईएनका व्यवस्थापक दीपक आचार्यले समुदायको आवाज र वन वातावरण संरक्षणको सवाललाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
उहाँले पर्यावरणीय लोकतन्त्रको वकालत गर्दै सीआईएनले वन्यजन्तु र वनस्पतीको अधिकारलाई पनि मानवअधिकारका सवालझैँ उठाउने गरेको बताउनुभयो ।
आचार्यले सीआईएनले रेडियोसँगै मल्टिमिडिया प्रविधिलाई पनि आत्मसात् गर्दै अघि बढ्ने योजना अनुसार काम गरिरहेको जानकारी दिनुभयो ।
मौसम सञ्चार, विपद् न्यूनीकरण तथा व्यवस्थापन र जलवायु परिवर्तनका मुद्धामा पनि सीआईएन र फेकोफनबीच सहकार्य भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, "हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्था तथा सञ्चारमाध्यमसँगको सहकार्य अझ प्रभावकारी बनाउने दिशामा लागेका छौँ ।"
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३