धनकुटा एफ एम
धनकुटा। धनकुटामा जारी १८औँ सहिद भीमनारायण स्मृति कप फुटबल प्रतियोगितामा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनलमा प्रवेश गरेको छ। तल्लो टुँडिखेल मैदानमा आज सम्पन्न क्वार्टरफाइनल खेलमा भारतको जर्जियन फुटबल क्लब कालिम्पोङलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोली अन्तिम चारमा पुगेको हो।
खेलको सुरुआतमै कालिम्पोङले दबाब बनाउँदै अग्रता लिएको थियो। खेलको १६औँ मिनेटमा कुञ्जमान थापाले गोल गर्दै भारतीय टोलीलाई १–० को अवस्थामा पुर्याएका थिए। सुरुआती झट्कापछि घरेलु टोली खेलमा फर्किन संघर्षरत देखिए पनि समर्थकको उत्साहबीच आक्रामक खेल प्रदर्शन गर्यो।
आयोजक टोलीका प्रतिस मगरले ३४औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा आयोजक टोलीले निर्णायक प्रहार गर्यो।
खेलको ५६औँ मिनेटमा विपिन जगेबुले गरेको गोल नै आयोजक टोलीका लागि जितको आधार बन्यो। त्यसपछि कालिम्पोङले बराबरीका लागि प्रयास गरे पनि घरेलु टोलीको रक्षापंक्ति मजबुत देखियो।
उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका प्रशान्त भण्डारी ‘म्यान अफ द म्याच’ घोषित हुनुभयाे । उहाँले नगद ५ हजार रुपैयाँसहित सम्मान प्राप्त गर्नुभयाे ।
प्रतियोगिताअन्तर्गत भोलि हुने अर्को खेलमा सातदोबाटो फुटबल क्लब र बेलबारी फुटबल क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३