काठमाडौँ । ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपालले नेपाली सेनालाई सम्मान गरेको छ ।
डब्ल्यूडब्ल्यूएफले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा नेपाली सेनालाई आज एक कार्यक्रमकाबीच विशेष सम्मान गरेको हो।
सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई “शून्य शिकार वर्ष” को रूपमा मनाउन सफल भइ अब्राहम कन्जरभेशन अवार्डबाट नेपाली सेनाका विभिन्न ६ वटा युनिटहरू यसबीचमा सम्मानित भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज डबल टाइगर अवार्डबाट समेत सम्मानित भएकोमा यस वर्ष प्रकृति तथा पर्यावरण संरक्षणमा पुर्याएको योगदानको कदरस्वरूप विश्व वन्यजन्तु कोष नेपालबाट विशेष सम्मान प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेना २०३२ सालबाट औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएकोमा हाल १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष र १ शिकार आरक्षका संरक्षणमा खटिएको छ ।
यसका लागि ८ वटा गण, ७ वटा अनाश्रित गुल्म र १ प्रकृति संरक्षण शिक्षालयबाट गरी करिब ८ हजार भन्दा बढी फौज सुरक्षामा खटिएको निर्देशनालयको भनाइ छ ।
"परिणामस्वरूप सन् २००९ मा १ सय २१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३ सय ५५ र सन् २००५ मा ४ सयको सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा हाल ७ सय ५२ मा वृद्धि भएको तथ्याङ्क रहेको छ।" निर्देशनालयद्वारा निकालिएको विज्ञप्तिमा भनिएको छ ।
वन्यजन्तु र पर्यावरणको सुरक्षाका क्रममा हालसम्म नेपाली सेनाका १ सय १६ जनाले वीरगति प्राप्त गरेको पनि निर्देशनालयले जनाएको छ ।
-1779199201.jpeg)
प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३