सर्लाही । सर्लाहीमा पछिल्लो समय ग्यास सिलिन्डरसँग सम्बन्धित दुर्घटना बढ्न थालेकाे छ। शुक्रबार बिहान हरिवन नगरपालिका–१ बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा घरमा आगलागी भएको छ भने केही दिनअघि ईश्वरपुर नगरपालिका–७ मा ग्यास सिलिन्डर पड्किँदा एक स्थानीयको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार शुक्रबार बिहान करिब ९ बजे दिवश बम्जनको काठले बनेको दुईतले घरको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली दमकलसहित घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा बिहान ९ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर, लत्ताकपडा, अन्नपात, भाडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रूपमा जलेर नष्ट भएको छ। यद्यपि क्षतिको विस्तृत विवरण अझै खुल्न बाँकी रहेको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।

यसअघि केही दिनअघि ईश्वरपुर नगरपालिका–७ मा ग्यास सिलिन्डर पड्किँदा एक स्थानीयको मृत्यु भएको थियो। लगातार ग्याससम्बन्धी दुर्घटना हुन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
सुरक्षा निकायले ग्यास सिलिन्डर प्रयोग गर्दा रेगुलेटर, पाइप तथा सिलिन्डरको अवस्था नियमित जाँच गर्न र ग्यास चुहावट भएको शंका लागे तत्काल सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३