बागलुङ । सामुदायिक रेडियो ढोरपाटन १६ औँ वर्षमा प्रवेश गरेको छ । २०६७ साल बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा स्थापना भएको रेडियोले आफ्नो वार्षिकोत्सव विशेष तरिकाले मनाएको हो।
वार्षिकोत्सवका अवसरमा रेडियोले बुर्तिबाङ अस्पतालमा उपचाररत विरामीहरूलाई फलफूल र जुस वितरण गर्दै स्वास्थ्य लाभको कामना गरेको छ। कार्यक्रममा संस्थाका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर, स्टेशन प्रमुख छविलाल पाण्डे, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसाल, डा. अविनाश पोख्रेल लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष कुवँरकाअनुसार रेडियो ढोरपाटन स्थानीय समाजसेवी, बुद्धिजीवी र विभिन्न क्षेत्रका व्यक्तिहरूको पहलमा स्थापना गरिएको हो। यसले दुर्गम क्षेत्रका नागरिकलाई सूचना, समाचार र मनोरञ्जन प्रदान गर्दै उनीहरूको आवाज उठाउने काम गरिरहेको छ।
रेडियोको पहुँच पश्चिम बागलुङसहित आसपासका १४ जिल्लासम्म पुगेको छ। यस अवसरमा रेडियोले आफ्ना श्रोता, विज्ञापनदाता र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३