सर्लाही । मुलुकभरमै सबैभन्दा बढी करिब १८ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुने सर्लाहीमा यस वर्षका लागि तीनवटै चिनी उद्योगले उखु क्रसिङ कार्य सम्पन्न गरी बन्द गरेका छन्।
उखु क्रसिङ सिजन २०८२ मा जिल्लाका उद्योगहरूले कुल ५८ लाख क्विन्टलभन्दा बढी उखु पेल्दै सिजन टुंग्याएका हुन्।
जिल्लामध्ये सबैभन्दा बढी उखु क्रसिङ इन्दुशंकर चिनी उद्योग ले गरेको छ। उद्योगले मात्र ३३ लाख क्विन्टल उखु पेल्न सफल भएको प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए। किसानबाट ल्याइएको उखु सकिएपछि उद्योग बन्द गरिएको उनले बताए।
त्यस्तै, महालक्ष्मी चिनी उद्योग ले १६ लाख २ हजार क्विन्टल उखु क्रसिङ गरेको छ। उद्योगका प्रशासकीय प्रमुख शिवशंकर महतोका अनुसार यस वर्ष उत्पादन सन्तोषजनक रहेको छ।
अन्नपूर्ण चिनी उद्योग ले भने तुलनात्मक रूपमा कम, ९ लाख ९३ हजार क्विन्टल उखु पेल्दै क्रसिङ सिजन अन्त्य गरेको छ। प्रशासकीय प्रमुख रमेश श्रीवास्तवका अनुसार उद्योग हाल बन्द भइसकेको छ।
उखु क्रसिङ बन्द भएसँगै अधिकांश कामदार घर फर्किएका छन् भने चिनी उत्पादनसम्बन्धी केही काममा भने सीमित जनशक्ति अझै खटिएको उद्योगहरूले जनाएका छन्।
यस वर्षदेखि उद्योगहरूले आफ्नै जिल्लाभित्र उत्पादित उखु मात्र खरिद गर्ने निर्णय गरेका कारण सर्लाहीका उद्योगहरू केही दिन ढिलोसम्म सञ्चालनमा रहेका थिए।
यद्यपि, किसानहरूले उद्योगमा बिक्री गरेको उखुको पूर्ण भुक्तानी भने अझै पाउन सकेका छैनन्। इन्दुशंकर चिनी उद्योग ले तालिकाअनुसार भुक्तानी गरिरहेको भए पनि महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योग ले ढिलो भुक्तानी गरिरहेको भन्दै किसानहरूले गुनासो गरेका छन्।
सरकारले चालु सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकेको छ। साथै, प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरिएको थियो।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३