सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाले जडीबुटीको संरक्षण, प्रवर्धन तथा उपयोग बारे जनचेतना जगाउन अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरेको छ ।
हरिपुर नगर नगरपालीकाको आयोजना तथा पिडारी आयुर्वेद औषधालयको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । हरिपुर नगरपालिका क्षेत्रबाट लालबन्दीस्थित पत्थरकोट वन क्षेत्रमा भ्रमण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय अगुवा, कर्मचारी पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको पिडारी आयुर्वेद औषधालयका प्रमुुख कपिलेश्वर झाले बताउनुभयो ।
भ्रमणका क्रममा सहभागीहरूलाई विभिन्न बहुमूल्य जडीबुटीहरूको पहिचान, संरक्षण विधि, औषधीय गुण तथा व्यावसायिक सम्भावना बारे जानकारी दिइएको थियो ।
कार्यक्रममा कुरिलो, घोडताप्रे, पिपला, अमला लगायतका जडीबुटीहरूको प्रयोग र महत्व बारेमा विज्ञहरूद्वारा व्याख्या गरिएको झाले बताउनुुभयो ।
कार्यक्रमले स्थानीयस्तरमा पाइने प्राकृतिक स्रोतहरूको सही उपयोगमार्फत आयआर्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
जडीबुटी खेती तथा व्यवसायिक विस्तारतर्फ स्थानीयबासीलाई प्रेरित गर्ने लक्ष्यसमेत कार्यक्रमले लिएको आयोजकले जनाएको छ ।
नगरपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने योजना रहेको नगर प्रमुुख गोपाल पञ्जियारले बताउनुुभयो ।
यस प्रकारका गतिविधिले वातावरण संरक्षणसँगै स्थानीय आर्थिक विकासमा समेत सकारात्मक योगदान पुर्याउने र स्थानीयस्तरमा र घरयारी रुपमा समेत औषधि प्रयोग गर्न सकिने प्रमुुख प्रसासकीय अधिकुुत बिनय पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०८२