सर्लाही । सर्लाहीको लालबन्दीस्थित नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रको स्तरोन्नतिका लागि लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनको आर्थिक सहयोगमा परियोजना सञ्चालन गरिने भएको छ ।
लायन्स डिस्ट्रिक्ट ३२५ यच द्वारा सन २०२४ मा लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनसमक्ष पेश गरिएको आँखा उपचार केन्द्र स्तरोन्नति सम्बन्धी प्रस्ताव विभिन्न चरणको मूल्याङ्कनपछि स्वीकृत भएको हो ।
स्वीकृत परियोजना अन्तर्गत कुल दुई करोड बीस लाख एक्काइस हजार ८ सय साठी रुपैयाँ बराबरको लागतमा आँखा उपचार केन्द्र स्तरोन्नति गरिँदैछ ।
यसमध्ये एक करोड ९५ लाख पँंतीस हजार पाँच सय साठी रुपैयाँ लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसनबाट प्राप्त हुने छ भने बाँकी २४ लाख छयासी हजार चार सय रुपैयाँ लायन्स डिस्ट्रिक्ट ३२५ ले स्थानीय स्रोतबाट जुटाएको जनाइएको छ ।
लालबन्दीस्थित उक्त आँखा उपचार केन्द्र स्थापना कालदेखि नै सर्लाहीसहित छिमेकी रौतहट, महोत्तरी तथा सिन्धुली जिल्लाका नागरिकहरूलाई निरन्तर गुणस्तरीय आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
बिरामीको चाप बढ्दै गएपछि तथा शल्यक्रियाको आवश्यकतामा वृद्धि भएपछि केन्द्रलाई आधुनिक प्रविधियुक्त उपकरणसहित स्तरोन्नति गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो ।
परियोजना अन्तर्गत अत्याधुनिक शल्यक्रिया, मोतियाबिन्दु शल्यक्रिया उपकरण, आधुनिक शल्यक्रिया प्रणाली, उच्च क्षमताको आँखा परीक्षण उपकरण तथा अन्य आवश्यक प्रविधि जडान गरिने जनाइएको छ ।
यसबाट आँखा परीक्षण तथा शल्यक्रिया सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ ।
लायन्स क्लब अफ लालबन्दी तथा लायन्स क्लब अफ लालबन्दी सिटीको पहलमा अघि बढाइएको उक्त परियोजनाको नेतृत्व लायन्स डिस्ट्रिक्ट ३२५ का जिल्ला प्रमुख २०२४–२५ लायन विमल कुमार होडाले गरिरहनुभएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२