जाजरकोट । कर्णाली प्रदेशका पाँच जिल्लाका युवा मानवअधिकार रक्षकहरूलाई आत्मरक्षा तथा मानसिक स्वास्थ्य सम्बन्धी दुई दिने तालिम दिईएको छ।
तालिम मङ्सिर ६ र ७ गतेसम्म मानव अधिकार तथा सामाजिक न्याय अभियान रोयम नेपालले जाजरकोटको खलंगामा आयोजना गरेको थियो। कार्यक्रम युवा मानवअधिकार रक्षक सञ्जालले समन्वयमा तथा ए.इ.आइ.एनको सहयोगमा सञ्चालन गरिएको हो।
आयोजक रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष बिकले मानवअधिकारको पक्षमा अभियान सञ्चालन गर्दा युवाहरूले तनाव, डर, मनोवैज्ञानिक दबाब र उदासिनता जस्ता समस्या भोग्नुपर्ने भएकाले युवाहरूलाई तालिम मार्फत आत्मरक्षा सीप, मानसिक सुदृढता र सुरक्षित रूपमा अभियान सञ्चालन गर्ने व्यवहारिक ज्ञान प्रदान गरेको बताउनुभयो ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख दलबहादुर सिंहले मानवअधिकारको काम चुनौतीपूर्ण भए पनि युवाहरूको अग्रसरता समाज परिवर्तनको बलियो आधार हुने बताउनुभयो।
भेरी नगरपालिका–८ का वडा अध्यक्ष विरबहादुर चन्दले स्थानीय तह र युवाबीचको सहकार्यले मानसिक स्वास्थ्यका मुद्दा समाधानमा टेवा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा पूर्व वडा अध्यक्षद्वय खुम्बजङ्ग शाह र गोपाल नेपाली, पत्रकार बालकुमार शर्मा, रेशम खड्का, बिनोद घर्ती मगर, रति नेपाली तथा इन्सेकका प्रतिनिधि बासुदेव शर्मालगायत सरोकारवालाहरूले आफ्ना धारणा राखेका थिए ।
जाजरकोट, रुकम पचिम, सुर्खेत, डोल्पा र सल्यान गरि कर्णालीका पाँच जिल्लाबाट आएका २५ जना युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२